global ime bank Long Banner Ad

गृहपृष्ठ खानलाउनै नपुग्ने बाजी साउदले कृषिबाट बदले जीवन

खानलाउनै नपुग्ने बाजी साउदले कृषिबाट बदले जीवन

खानलाउनै नपुग्ने बाजी साउदले कृषिबाट बदले जीवन

दीपायल सिलगढी नगरपालिका वडा नं ९ लाई बत्तीमुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ । जिल्ला सदरमुकाममै रहेको भए पनि वडा नं ९ सामाजिक चेतनाको विकास नभएकै कारण सबैभन्दा पछि परेको छ ।

थुप्रै सरकारी र गैर–सरकारी संस्थाहरुले कार्यक्षेत्र बनाएर लगानी गरे पनि त्यो ठाउँको अपेक्षित विकास हुन सकेको छैन । साविकको कलेना गाविसका रुपमा रहेको त्यो क्षेत्र मुख्यतया मदिराले मस्त रहने क्षेत्र हो । तुलनात्मक रुपमा पछिल्लो समयमा केही सुधार देखा परे पनि त्यो सन्तोषजनक छैन । घरमा भैंसी पाल्ने, दूध, दही, घीउ र बारीमा फलेको साग सिलगढी लगेर बेच्ने, अनि रक्सी किनेर पैसा उडाउने कलेनाका अधिकांश पुरुषको नियति नै भएको छ । दूध, दही, घीउ, सागपात बेच्न घरका महिलाहरु बजारमा जान्छन् तर, श्रीमानका लागि रक्सी किनेर लगिदिनुपर्ने बाध्यता छ उनीहरुलाई ।

गाउँमा पनि लुकिछिपि रक्सी बेच्नेको कमी छैन । कोही कोही मानिस त बिहान चिया खाने समयमै रक्सी पिउने गरेको अहिले पनि भेट्न सकिन्छ । तर, हिजोआज केहीको दैनिकी फेरिएको छ । कलेनास्थित गुणे गाउँका ४५ वर्षीय बाजी साउदको दैनिकी फेरिएको छ । बाह्र वर्षकै उमेरमा बुबा गुमाएका र झण्डै २१ वर्ष पहिले आमा गुमाएका साउदलाई सानै उमेरदेखि नै घरपरिवार सम्हाल्ने जिम्मेवारी आइप¥यो । उनले घरपरिवारको जीवन धान्न पुख्र्यौली पेशा कृषि बाहेक अरु केही गर्न सकेनन् ।

साउदले ठूलो लगानी गर्न सक्ने अवस्था नभए पनि सानोतिनो लगानीबाट तरकारीखेती, भैँसीपालन, बाख्रापालन शुरु गरे । बाजीको घरपरिवारमा उनकी श्रीमती देउसरासँगै चार छोरा, तीन बुहारी, दुई नाति र १ नातिनी छन् । बाजी र देउसरा आफ्नो पेशामा खुसीसाथ व्यस्त देखिन्छन् । शुरुमा खानका लागि मात्रै तरकारी खेती गरेका उनले अहिले थुप्रै जग्गामा तरकारी खेती गरेर आयआर्जन गर्न थालेका छन् ।

उनले भने, ’शुरुमा सानोतिनो रकम जुटाएर, तरकारीखेती गरें । त्यो राम्रो भएपछि अहिले व्यावसायिक रुपमा तरकारी खेती गर्दैछु ।’ उनका अनुसार गाउँमै तरकारीखेती गर्ने उनी नै पहिलो व्यक्ति हुन् । अहिले उनले दीपायल सिलगढी नगरपालिकाअन्तर्गत कृषि विकास शाखाको ४० हजार रुपैयाँ अनुदान सहयोगमा टमाटर खेतीका लागि फलामे खम्बासहितका २२ मिटर लामो र ५ मिटर चौडा रहेको पोली हाउस तयार गरेका छन् ।

गाउँमा गरिबी निवारण कोष र फेकोफन डोटीको साझेदारीमा सिँचाइ सुविधा पनि पुगेको छ । अब तरकारीखेतीका लागि निकै सहजता भएको साउद बताउँछन् । अहिले उनको बारीमा बन्दा, प्याजलगायतका तरकारी पाइन्छन् भने बेमौसमी काँक्रा फुलेर फल लाग्ने तयारीमा छ । अब तरकारी खेतीलाई थप विस्तार गर्ने उनको योजना छ ।

साउदलाई तीन महिने अगुवा कृषक प्राविधिक तालीमसमेत दिइसकेको दीपायल सिलगढी नगरपालिकाका कृषि विकास शाखाका नायब प्राविधिक सहायक संगम साउदले बताए । एक रोपनीभन्दा बढी खेतमा तरकारीखेती गर्ने कृषकहरुको बाली बिमा गर्ने प्रावधान अनुसार साउदको तरकारी बालीको बिमा पनि गरिने र निरन्तर प्राविधिक सहयोग गरिने नायब प्राविधिक सहायक साउदले बताए ।

बाजी साउदले दुई वटा भैँसी पनि पालेका छन् । दुवै भैँसी ब्याएका छन् । गरिबी निवारण कोष र फेकोफन डोटीको साझेदारीमा ग्रामीण गरिबी न्यूनीकरण कार्यक्रम लागू भई त्यस गाउँमा तेडी सामुदायिक संस्था गठन भएको छ र त्यस संंस्थामा बाजीकी श्रीमती देउसरा पनि सदस्य बनेकी छन् ।

उनले उक्त संस्थाबाट विसं २०६५ वैशाखमा १८ हजार ऋण पाइन् र एउटा भैँसी किनिन् । त्यो भैँसी ब्याएपछि बाजी र देउसराको आम्दानीको बाटो खुल्यो । उनीहरुले त्यो भैँसीको दूध, दही, घीउ बजारमा बेचेर आम्दानी गर्न शुुरु गरे । चार बेतसम्म ब्याएको भैँसीका दुई वटा पाडा सानोमै बेचेर पनि करीब १५ हजार रुपैयाँ आम्दानी गरे । एउटा पाडो सानोमै मर्यो र त्यसै भैँसीबाट जन्मेको एउटा पाडी अहिले ब्याउने भएको छ । उनले शुरुमा किनेको भैँसीसँग साटेर अर्को भैँसी ल्याए जुन भैँसीले करीब १९ महिना अघिदेखि दूध दिइरहेको छ । एक वर्षमा एउटा दुहुनो भैँसी र अर्को ब्याउने भैँसी भएमा हरेक वर्ष दूध, दही, घीउ भइरहने भएकाले उनीहरुले यस्तो योजना बनाएका हुन् । यस अतिरिक्त उनीहरुले एक दर्जन बाख्रा पनि पालेका छन् । बाख्रा बेचेर घरखर्च चलाउन सहयोग पुगेको उनीहरु बताउँछन् ।

बाजीले तरकारीखेती, भैँसी र बाख्रापालनबाटै गाउँमै ११ कोठाको तीन तले घर बनाएका छन् । आफ्नो ४५ वर्षे उमेरसम्ममा दुई पटक नेपालगञ्ज उपचारमा गएको बाहेक अन्य कुनै ठाउँ नदेखेको बाजी बताउँछन् । ‘मैले जे गरेँ, घरमै कृषि पेशामै गरेँ,’ उनले भने, ‘पैसा कमाउन अन्त धाउनै परेन । बिराम नि लागेन ।’ पहिले करीब ५/६ महिना मात्रै खान लाउन पुग्ने कलेनाका बाजीको मेहनत र लगनलाई अन्य नागरिकले पनि पछ्याएर व्यवसाय सञ्चालन गरे जीवनस्तर माथि उठ्ने सिलगढी ओम गेष्ट हाउसका सञ्चालक सिद्धराज जोशीले बताए । ‘परिश्रम र मेहनत गर्दा घरैमा पैसा आउँछ, अन्त धाउनु पर्दैन,’ उनले भने ।

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु