गृहपृष्ठ स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा लागू गरिने
स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा लागू गरिने
अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य बिमा कार्यक्रमलाई देशका सबै जिल्लामा लागू गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, ‘सबै नेपालीलाई स्वास्थ्य सेवाको पहुँचभित्र ल्याउन स्वास्थ्य बिमा कार्यक्रमलाई देशव्यापी बनाउने तयारी लगभग सकिएको छ ।’ उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रम विस्तारका लागि आवश्यक कानुनी तयारी पूरा भइसकेको छ ।
यसअघि अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसका अवसरमा राष्ट्रिय नागरिक विकास मञ्चले चैत २३ गते काठमाडौमा आयोजना गरेको कार्यक्रममा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा लागू गर्ने तयारी अन्तिम चरणमा पुगेकाे बताएका थिए ।
नेपालको संविधानले नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने प्रावधानबमोजिम सरकारले यो कार्यक्रम लागू गरेको हो । २५ चैत २०७२ मा कैलालीबाट लागू भएको स्वास्थ्य बिमा कार्यक्रम हाल ४२ जिल्लामा विस्तार गरिएको छ भने झण्डै १३ लाख नागरिक याे कार्यक्रममा जाेडिएका छन् । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत वार्षिक २५ सय रुपैयाँ भुक्तानी गरेर ५ जनाको परिवारले ५० हजारसम्मको निशुल्क स्वास्थ्य सुविधा लिन पाउँछ । यस्तै ७० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई सरकारले नै प्रिमियम भुक्तानी गरेर निशुल्क स्वास्थ्य बिमाको सुविधा दिने व्यवस्था छ ।
प्रकाशित समय : २१:१८ बजे



















