गृहपृष्ठ जलविद्युतमा लगानी गर्न बंगलादेश तयार
जलविद्युतमा लगानी गर्न बंगलादेश तयार
नेपालको जलविद्युतमा लगानी गर्न बंगलादेशको निजी क्षेत्र तयार भएको छ । बंगलादेशका निजी लगानीकर्ताले नेपालका ऊर्जा उद्यमीसँग मिलेर ऊर्जा उत्पादन गर्ने भएका हुन् । सन् २०४० सम्म बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य लिएको छ ।
हालै बंगलादेशको भ्रमणबाट फर्किएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले पनि भारतले अन्तरदेशीय विद्युत् आदानप्रदान सम्बन्धमा गुरुयोजना कार्यान्वयनमा ल्याएकाले त्यसबाट नेपाल र बंगलादेशले फाइदा लिनुपर्ने बताएको छ । इपानले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शैलेन्द्र गुरागाईंले नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् खरिद सम्झौता मूल्यका आधारमा ९ हजार मेगावाट विद्युत् बिक्री गर्ने वातावरण बनेमा तीन खर्ब ६० अर्ब रुपैयाँबराबरको वार्षिक आम्दानी हुने बताए । लगानी सहजीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहसचिवको नेतृत्वमा एकल बिन्दु सेवा केन्द्र स्थापना गर्नुपर्ने अध्यक्ष गुरागाईंले माग गरे ।
त्यस्तै, इपानका उपाध्यक्ष कुमार पाण्डेल बंगलादेशले नेपालबाट विद्युत् आयात गर्नका लागि संयुक्त लगानी गर्ने उपयुक्त अवसर खोजिरहेको बताए । राज्य संयन्त्रले चासो दिएको खण्डमा नेपालको व्यापार घाटा पनि कम हुने र लगानीको वातावरण पनि बन्ने उनको बुझाइ छ ।
त्यस्तै, कार्यक्रममा बंगलादेश सरकारले जीएमआरले बनाउन लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट विद्युत् लैजाने विषयमा प्राविधिक तयारीसमेत अन्तिम चरणमा पुर्याएको नेपाली प्रतिनिधिमण्डललाई जानकारी गराएको छ ।
इपानले नेपाल र बंगलादेशबीचको ज्वाइन्ट वर्किङ ग्रुप र ज्वाइन्ट स्टेरिङ कमिटीको बैठकमा नेपालको निजी क्षेत्रबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्नेसम्बन्धी प्रस्ताव अगाडि बढाउन प्रयोगका लागि सम्बन्धित पक्षसँग वार्ता अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ ।
प्रकाशित समय : २१:०७ बजे



















