गृहपृष्ठ स्थानीय तह धमाधम उठाउँदै नदीजन्य राजस्व, प्रदेशले पाउन बाँकी
स्थानीय तह धमाधम उठाउँदै नदीजन्य राजस्व, प्रदेशले पाउन बाँकी
सुर्खेतका सातवटा स्थानीय तहले ढुंगा, गिटी तथा बालुवाबाट करिब ३ करोड राजस्व संकलन गरेका छन् । सुर्खेतको चिङ्गाड र चौकुने गाउँपालिकाबाहेकका अन्य सात स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ को चैतसम्म २ करोड ९७ लाख ७१ हजार ६ सय ८८ राजस्व संकलन गरेका हुन् ।
जिल्लाका नौ वटा स्थानीय तहमध्ये दुईवटा गाउँपालिकामा भने ढुंगा, गिटी, बालुवाको ठेक्का नपरेको र वातावरणीय परीक्षण नभएका कारण राजस्व संकलन नभएको सम्बन्धित कार्यालयले जानकारी दिएका छन् ।
चिङ्गाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीका अनुसार निजी जग्गा विवाद र वातावरणीय परीक्षण नभएकाले नदीजन्य पदार्थको टेन्डर नभएको हो । एकीकृत सम्पत्ति कर, मालपोत कर, पञ्जीकरण कर तथा सिफारिस गरी हालसम्म कार्यालयले १ लाख ८४ हजार ४ सय ८६ राजस्व संकलन गरेको खत्रीले बताए ।
त्यस्तै चौकुने गाउँपालिकामा पनि ढुंगा, गिटी, बालुवाको ठेक्का नपरेको लेखापाल खेमराज शर्माले जानकारी दिए । ‘यो वर्ष ढुंगा, गिटी र बालुवामा हाम्रो ठेक्का परेन । तर अन्य क्षेत्रको राजस्व भने हालसम्म करिब ५ लाख संकलन भएको छ,’ उनले भने ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आर्थिक वर्ष ०७५/७६ मा साढे ७ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्य पूरा भएको बताएको छ । नगरपालिकाका लेखापाल हरि क्षेत्रीका अनुसार चालू आर्थिक वर्षमा नगरले ६० लाख रुपैयाँ राजस्व ढुंगा, गिटी र बालुवाबाट संकलन गरेको छ । ‘वीरेन्द्रनगर नगरपालिकाले घरबहाल कर भने सबै उठाउन सकेको छैन । व्यवसाय करमा समेत हामी कमजोर छौं,’ उनले भने ।
बराहताल गाउँपालिकाले चालू आर्थिक वर्षमा नदीजन्य पदार्थबाट ८४ लाख राजस्व संकलन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत यादवप्रसाद सापकोटाका अनुसार यो तीनवटै तहमा बाँडफाँड गर्न बाँकी रकम हो । ‘स्थानीय तहले संकलन गरेको राजस्व तीनवटै तहमा बाँडफाँड गर्नुपर्छ । संघले प्राप्त गर्ने १३ प्रतिशत भ्याटसमेत यसै रकमबाट बाँडफाँड गरिन्छ,’ उनले भने । स्थानीय तहले संकलन गरेको जम्मा राजस्वको ४० प्रतिशत प्रदेश सरकारले प्राप्त गर्ने उनले बताए । सिफारिस, मालपोत कर, जरिवानालगायतमा बराहतालले १५ लाख राजस्व संकलन गरेको छ ।
सिम्ता गाउँपालिका सुर्खेतले करिब २१ लाख राजस्व ढुंगा, गिटी, बालुवाबाट संकलन गरेको छ । अन्य शीर्षकमा ५० लाख लक्ष्य लिएकोमा हालसम्म २५ लाख राजस्व संकलन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले जानकारी दिए । ‘अन्योलका कारण प्रदेश सरकारलाई राजस्व दिन सकेका थिएनौं,’ उनले भने । गत आर्थिक वर्षमा सिम्ता गाउँपालिकाले ढुंगा, गिटी, बालुवाबाट १० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
गुर्भाकोट नगरपालिकाले ढुंगा, गिटी, बालुवाबाट हालसम्म ४४ लाख २४ हजार ९ सय २७ रुपैयाँ राजस्व संकलन गरेको राजस्व प्रमुख कष्णप्रसाद शर्माले जानकारी दिए । ‘हामीले ढुंगा, गिटी, बालुवाका लागि ठेक्का दिएका छौं । जम्मा तीन किस्तामध्ये हालसम्म दुई किस्तामात्रै राजस्व संकलन भएको छ,’ उनले भने । ढुंगा, गिटीबाहेक सिफारिसमा २२ लाख २२ हजार, घरजग्गा एकीकृतमा ५ लाख ५३ हजार, घरनक्सामा २ लाख ४२ हजार, टेन्डरमा ७१ हजार ६ सय ५, निर्माण व्यवसाय नवीकरण र दर्तामा ४५ हजार १ सय, घरबहालमा ६३ हजार २ सय २ र पञ्जीकरणमा ७५ हजार ६ सय ५० राजस्व संकलन भएको छ ।
लेकबेँसी नगरपालिकाले ढुंगा, गिटी, बालुवाबाट ३६ लाख ९५ हजार ७ सय ६१ रुपैयाँ राजस्व संकलन गरेको लेखापाल दोर्ण वनले जानकारी दिए । उनका अनुसार कार्यालयले पहिलो किस्तामा उठाएको रकमबराबर दोस्रो किस्ता उठ्न बाँकी छ । लेकबेँसी नगरपालिकाले सिफारिस, एकीकृत सम्पत्ति तथा पञ्जीकरणलगायतमा २२ लाख ६४ हजार १ सय ६४ रुपैयाँ राजस्व संकलन गरेको छ ।
भेरीगंगा नगरपालिकाकाले नदीजन्य पदार्थबाट २४ लाख ५० हजार राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार अन्य घरनक्सा, मालपोत, सिफारिसलगायतमा भने ८१ लाख ५१ हजार ८ सय ८१ राजस्व संकलन भएको छ । त्यस्तै, पञ्चपुरी नगरपालिकामा ढुंगा, गिटी र बालुवाबाट हालसम्म २७ लाख १ हजार राजस्व संकलन भएको छ ।
स्थानीय तहले ढुंगा, गिटी र बालुवाको शीर्षकमा उठाएको राजस्वको ४० प्रतिशत प्रदेश सरकारलाई दिनुपर्ने कानुनी व्यवस्था छ । तर, हालसम्म कुनै पनि स्थानीय तहले प्रदेश सरकारले भागबन्डाका आधारमा पाउनुपर्ने रकम दिएका छैनन् । स्थानीय तहले भने विविध कारणवश हालसम्म प्रदेश सरकारलाई दिनुपर्ने रकम नदिएको र अबको केही महिनाभित्रैमा दिने तयारी भएको बताएका छन् ।
प्रकाशित समय : २२:११ बजे



















