global ime bank Long Banner Ad

गृहपृष्ठ शब्द सञ्जीवनी

शब्द सञ्जीवनी

शब्द सञ्जीवनी

आँखीझ्यालबाट छिरेको

एक जुवाघामलाई

धुरिबलोले पाता कस्दै

पुर्याउँछ ढुकुटीखाट र गग्रेटोसम्म

इनारको शुद्ध जलले भिजाएर पोतारी

लिप्छ अगेनुको चम्का

पकाउनु छ भुजुङ्गोमा बहुभत्तेर

अनि चखाउनु छ जन्तीलाई परिकार

 

खुरमानेले बाटेको दाम्लो

भिरेर खुर्पेटोमा खुर्पा

उग्राउँदै अनादीको खट्टे

समाएर चनमतीको डुडुल्को

गाउँदै लिपुलेकको गीत

उँधो झर्दै छन् आइराकको

धसिङ्गरे स्वादमा डुबेका शब्दहरू

म छिन्कनी लगाउँदै

सङ्गेल्दै छु र लेख्दै छु

मदारिको कविता

 

दलानमा लम्पसार ढिकिको

सहाराले ओखलमा कुटेर

साउँ अक्षरहरू

चाल्नुमा चालेर

जोगाउनु छ शब्दको दिउल

तताएर तसला र ताउलो

सिङ्ममाङबाट कर्सौलीले झिकेर भुटुन

ओइरिँदै छु अरनिको सिरौला

 

खटप्वालबाट चिम्टाले च्पापेर

नास्पातीको भिनाजु

छोपेर आलिको चपरीले

हुर्काउनु छ

शब्दको कुटुलिकोसा

चखाउनु छ

सिङ्गटोका दानाहरू

भिजाउनु छ जोइटिङ्ग्रे ओठ

एक कुरुवा मोइले

मेट्नु छ काकाकुलको प्यास

 

कौ को खलातीमा तताएर

शब्दको सनासो

पेरुङ्गोमा सजाउँदै

हाटबजार पुर्याउनु छ

मैजारो नहुँदै हटिया

च्याप्नु छ खोकिलामा

शब्द फुल्ने तुलसीको मञ्जरी

रोपेर करेसामा

सञ्जीवनीको बोट

टिपेर अमृत फल

कोलमा पेलेर शब्दको रस

पिलाउनु छ घोटिचौथी

यिनै अक्षर र शब्दहरूबाट सिर्जित

मन्त्रहरुले निको पार्नु छ

मान्छेहरुलाई लागेको शुल र

देशलाई लागेको रोग ।

(ललितपुर, गोदावरी)

प्रकाशित समय : २१:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु