global ime bank Long Banner Ad

गृहपृष्ठ नागरिकताका लागि जिल्ला प्रशासनमा ‘मिनी मेला’

नागरिकताका लागि जिल्ला प्रशासनमा ‘मिनी मेला’

नागरिकताका लागि जिल्ला प्रशासनमा ‘मिनी मेला’

केही समयअघि दैनिक ५–१० वटासम्म नेपाली नागरिकता बन्ने रुपन्देही जिल्ला प्रशासन कार्यालयमा हाल नागरिकता लिनेको भीड नै लाग्छ । सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने घोषणा गरेअनुसार नागरिकता लिनको लागि मेला लागे जस्तै गरी मानिसको भीड लाग्ने गरेको हो ।

गृह मन्त्रालयबाट भएको परिपत्रअनुसार रुपन्देहीका जिल्ला प्रशासन कार्यालय भैरहवा, इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय माजगाँवा मर्चवारबाट समेत जन्मको आधारमा नागरिकता वितरण हुँदै आएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुरा रानामगरले जन्मको आधारमा नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तनालाई वंशजको आधारमा अहिले नागरिकता प्रदान गरिएको जानकारी दिए ।

नेपालको संविधान जारी भएको मिति २०७२ आसोज ३ गतेभन्दा पहिला जन्मको आधारमा नागरिकता प्राप्त गरेका बाबुआमाका सन्ततिलाई उनीहरु नेपालमै बसोबास गरेको स्थानीय तहको प्रमाणित प्रतिलिपि, आमाबाबुको नागरिकता र जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि पेस गरेपछि नागरिकता प्रदान गरिएको उनले बताए । जन्मको आधारमा नागरिकता प्राप्त गरेकाहरुका सन्ततिलाई वंशजको आधारमा नागरिकता प्रदान गर्दा जिल्ला प्रशासनमा भीड बढेको प्रमुख जिल्ला अधिकारी रानाको भनाइ छ ।

गत चैत १९ गतेको परिपत्रअनुसार जिल्ला प्रशासनले चैत २५ गते पाँचवटा मात्रै वंशजको नागरिकता प्रदान गरेको थियो । त्यसपछि सर्वोच्चको आदेशपछि केही समय स्थगित भएकोमा वितरण कार्य पुनः २०७६ वैशाख ८ गतेबाट सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी रानाका अनुसार वैशाख १९ सम्ममा ७ सय २४ वटा जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्ततिलाई वंशजको नागरिकता प्रदान गरिएको छ । जसमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ६ सय १७ वटा, बुटवल इलाका प्रशासन कार्यालयबाट ५५ वटा, मजगाँवा इलाका प्रशासन कार्यालयबाट ५२ वटा नागरिकता वितरण भइसकेको छ ।

nagrita-newskarobar

जिल्ला प्रशासन कार्यालयमा दैनिकजसो सेवाग्राहीको भीड बढ्दै गएपछि टोकन प्रणाली लागू गरिएको रानाले जानकारी दिए । उनका अनुसार हाल दैनिक सयवटा सम्म नागरिकता वितरण भइसकेको छ । ‘हामीले करिब ३० हजारभन्दा बढी जन्मको आधारमा नागरिकता पाएका व्यक्ति छन् भन्ने अनुमान गरेको छौं,’ उनले भने, ‘त्यसैअनुसार वंशजको आधारमा नागरिकता प्रदान गर्ने हो, सोही अनुसार व्यवस्थापन गर्न लागिपरेका छौं ।’

गैरनेपालीले नागरिकता प्राप्त गर्न सक्नेतर्फ विशेष ध्यान दिइएको भन्दै प्रमुख जिल्ला अधिकारी रानाले यसका लागि स्थानिय तहबाट आएको सिफारिस, त्यहाँ बसोबास गरेको प्रमाणित प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जालगायतका नौवटा मापदण्ड बनाएरमात्रै नागरिकता प्रदान गरिएको जानकारी दिए ।

प्रकाशित समय : २१:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु