गृहपृष्ठ प्रदेश ५ मा वैशाख २३ बाट मुख्यमन्त्री रनिङ सिल्ड प्रतियोगिता
प्रदेश ५ मा वैशाख २३ बाट मुख्यमन्त्री रनिङ सिल्ड प्रतियोगिता
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको आयोजनामा मुख्यमन्त्री रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख २३ गतेबाट हुने भएको छ । ‘खेलकुदमा युवा सहभागिता प्रदेश र राष्ट्रको समृद्धिमा अग्रता’ भन्ने मूल नाराका साथ रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्न लागिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए ।
प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, तेक्वान्दो, बुद्धिचाल, सटपुट गरी विभिन्न ६ विधामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भलिबलमा २१६ जना, ब्याडमिन्टनमा ४८ जना, दौडमा २४ जना, तेक्वान्दोमा ९६ जना, बुद्धिचालमा १२ जना, सटपुटमा २४ जना गरी ४२० खेलाडीको सहभागिता रहने सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले जानकारी दिए ।
भलिबल बुटवल मण्डपमा, ब्याडमिन्टन बुटवल ब्याडमिन्टन कबर्ड हलमा, दौड ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा, तेक्वान्दो रुपन्देही जिल्ला खेलकुद विकास कबर्ड हलमा, बुद्धिचाल कालिका मानविज्ञान माविको सभाहलमा र सटपुट ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा हुनेछ । १८ देखि ४० वर्ष उमेर समूहका खेलाडी सहभागिता रहने स्पर्धामा आठौं राष्ट्रिय खेलकुदमा कुनै पनि पदक प्राप्त गरेका खेलाडीले सहभागिता जनाउन नपाउने प्रवधान राखिएको छ ।
५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रतियोगितामा भलिबलतर्फ प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीयले २० हजार नगद पुरस्कार पाउनेछन् । प्रचारप्रसार संयोजक कुमार आलेका अनुसार ब्याडमिन्टनमा प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार ५ हजार, दौडमा ५ हजार, ३ हजार २ हजार, चेसमा ५ हजार, ३ हजार, २ हजार पुरस्कार पाउनेछन् । तेक्वान्दोतर्फ सहभागी हुने आठवटा महिला र पुरुषतर्फ प्रथम हुनेले ५ हजार, द्वितीयले ३ हजार र तृतीयले २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
खेलाडीलाई प्रतिदिन १२ सय रुपैयाँ भत्ताको व्यवस्था गरिएको छ । मौसम प्रतिकूल भएकाले अनुकूल समयमा मात्रै खेलकुदका कार्यक्रम सञ्चालन गर्ने गरी कार्यतालिका बनाइने रुपन्देही जिल्ला खेलकुद विकास संघका अध्यो योग गुरुङले जानकारी दिए ।
जिल्लास्तरमा खेलकुद प्रतियोगिता जारी छ । जिल्लाबाट छानिएका खेलाडीले प्रदेशमा प्रतिस्पर्धा गर्नेछन् । रनिङ सिल्ड विजेता प्रथम टिमले १ लाख, द्वितीयले ७० हजार, तृतीयले कुल ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रकाशित समय : २२:१७ बजे



















