गृहपृष्ठ सुर्खेतमा सुरु भयो कृषि बजार
सुर्खेतमा सुरु भयो कृषि बजार
सुर्खेतमा कृषि बजार सुरु गरिएको छ । बिहीबार कृषि बजारको भूमि व्यवस्था तथा सहरकारी मन्त्री बिमला केसीले उद्घाटन गरेकी हुन् । कार्यक्रममा मन्त्री केसीले बजारलाई सुर्खेतको मात्र नभएर प्रदेश स्तरीय बनाउने बताइन् । ‘यो बजारलाई अब अर्गानिक कृषि बजार बनाउनुपर्छ’ उनले भनिन्, ‘त्यसका लागि कृषकहरु जागरुक हुनुपर्छ ।’
भारतबाट तरकारी ल्याउनु पर्ने व्यवसायीको बाध्यता भएको भन्दै मन्त्री केसीले अब कर्णाली प्रदेशमा नै तरकारी तथा फलफूल र मशलाको अध्ययन गरी उत्पादनमा जोड दिनुपर्ने बताइन् । यो वर्ष कृषकलाई दिएको अनुदान बास्तविक कृषकले नपाई बिचौलियाले पाएको भन्दै मन्त्री केसीले आगामी दिनमा कृषकले नै पाउने बताइन् ।

‘कृषकलाई अनुदान दिने क्रममा सहकारी, समूह र फम खोज्नु गल्ति भयो । बाठाले मात्रै यस्ता समूह दर्ता गर्ने र उनीहरुले नै कृषकको नाममा अनुदान लगेकोले आगामी दिनमा यसलाई सच्याछौं’ उनले भनिन् । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमायाँ ढकालले कृषकले उत्पादन गरको बस्तुले बजार पाउने भएपछिे ढुक्कले उत्पादन गर्न आग्रह गरिन् । कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर खत्रीले कृषि बजार मात्रै नभएर कोल्ड सेन्टरको समेत आवश्यकता रहेको बताए ।
कृषि बजारको सुरु हुँदा कृषकहरु समेत खुशी भएका छन् । वीरेन्द्रनगर नगरपालीका २ का कृषक कालीबहादुर अधिकारीले बजार नहुँदा पालमुनी तरकारी बेच्नु पर्ने बाध्यता हटेको बताए । यसअघि कृषकहरुले पालमुनी तरकारी बिक्री वितरण गर्ने गरेका थिए । करिब १८ कट्टा जमिनमा बनेको बजारमा ४९ वटा स्टल रहेको छ ।
प्रकाशित समय : २३:२६ बजे



















