गृहपृष्ठ पोखरामा वडा कार्यालयसहित चार स्थानमा एकै रातमा चोरी
पोखरामा वडा कार्यालयसहित चार स्थानमा एकै रातमा चोरी
पोखरा महानगरपालिकामा चोरीको बिगबिगी भएको छ । विभिन्न वडाहरुमा चोरी हुने क्रम बढेको हो । बुधबार राति वडा नम्बर १९ को कार्यालयमा चोरी भएको खुलेको छ । यसअघि महानगरका ५, १३, १४, १५ र १६ नम्मर वडामा चोरी भएको थियो ।
वडा कार्यालयसहित एक सामुदायिक बिद्यालय, मन्दिर र एक व्यक्तिको घरमा सोही दिन चोरी भएको छ ।
वडा कार्यालयबाट एक थान ल्यापटप, रत्नराज्य लक्ष्मि माविबाट करिब ३५ हजार नगद, जलेश्वर मन्दिरबाट केही नगद र स्थानिय बमबहादुर गुरुङको घरबाट भाडा कुँडा सहितका सामानहरु चोरी भएको प्रहरीले जनाएको छ ।
कार्यालय संचालनको लागि हालै लिएको करिब ५५ हजार मूल्यको ल्यापटप चोरी भएको वडा नम्बर १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले बताए । रत्नराज्य लक्ष्मी विद्यालयबाट चोरी भएको रकम छात्रवृत्तिको भएको प्राचार्य केशव प्रसाद अम्गाइले जानकारी दिए । झ्यालको रेलिङ निकालेर विद्यालमा चोरी भएको हो ।
यस्तै स्थानीय गुरुङको घरबाट भाडाकुडा चोरी भएको बताइएको छ । चरेसका केही भाडा बाटोमा भेटिएको थियो भने चाँदीका दुई करुवा चोरी भएको छ ।
रत्नराज्य विद्यालय नजिकको एक मन्दिरको दानपेटिकामा रहेको रकम पनि चोरी भएको स्थानीय दिलबहादुर थापाले जानकारी दिए । सो दानपेटिमा कति रकम थियो भन्नेबारे कसैलाई जानकारी नभएको स्थानीयले बताए ।
एकै रातमा एकै वडाको करिब एक किलोमिटरको दुरीभित्र शृंखलाबद्ध चोरी हुँदा पनि प्ररहरीले भने उजुरीपछि मात्रै यसबारेमा थाह पाएको छ ।
प्रकाशित समय : १३:५३ बजे


















