global ime bank Long Banner Ad

गृहपृष्ठ ज्येष्ठ नागरिकलाई ‘बुढेसकालको लौरी’

ज्येष्ठ नागरिकलाई ‘बुढेसकालको लौरी’

ज्येष्ठ नागरिकलाई ‘बुढेसकालको लौरी’

तनहुँको म्याग्दे गाउँपालिका–६ का ज्येष्ठ नागरिकलाई वडा कार्यालयले बुढेसकालको साथीको रूपमा लौरी वितरण गरेको छ । वडाभित्रका ८० वर्ष उमेर कटेका ८० ज्येष्ठ नागरिकलाई ‘आल्मुनियम फोल्डिङ स्टिक’ वितरण गरिएको हो ।

ज्येष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षाभत्ता दिए पनि उक्त भत्ता लिन बैंकसम्म जान पनि समस्या रहेको हुँदा हिँड्डुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले लौरी प्रदान गरिएको वडाध्यक्ष बसन थापाले जानकारी दिए । उनका अनुसार लौरीको सहायताले हिँड्डुल गर्दा ज्येष्ठ नागरिकको स्वास्थ्यमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उक्त लौरी पोखराबाट प्रतिथान १ हजार २ सय रूपैयाँमा खरिद गरिएको हो । उक्त लौरी हिँड्डुल नगर्दाको समयमा फोल्डिङ गरेर झोलामा राख्न मिल्छ । वडा सदस्य निर्मला वाग्लेका अनुसार ज्येष्ठ नागरिकको सम्मानस्वरुप गत वर्ष चरसको थाल वितरण गरिएकामा यस वर्ष लौरी वितरण गरिएको हो ।

लौरी पाएपछि ८२ वर्षीय बुद्धिबहादुर थापाले लौरीको सहयोगमा हिँड्डुलमा सहज हुने बताए । लौरी नहुँदा घर वरपर हिँड्न पनि समस्या हुने गरेको सुनाउँदै उनले लौरीको सहायताले बैंकसम्म पुग्न सहज हुने बताए । अधिकांश ज्येष्ठ नागरिक काठको लौरी प्रयोग गर्न बाध्य छन् । काठको लौरी केही महिनापछि भाँच्चिने र अर्को लौरी खोज्न वा बनाउन पनि समस्या पर्ने हुँदा दुःख पाउने गरेको उनीहरुको गुनासो छ ।

लायन्सद्वारा ह्विलचियर प्रदान

लायन्स क्लब इन्टरनेसनलले म्याग्दे गाउँपालिका–१ गुणादीका बलबहादुर थापालाई ह्विलचियर प्रदान गरेको छ । सामान्य हिँड्डुल गर्न पनि नसक्ने थापालाई लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ ‘बी १’ का सन् २०१८÷१९ का गभर्नर अशोककुमार श्रेष्ठले ह्विलचियर प्रदान गरेका हुन् । जन्मैदेखि अपांगता भएका थापा शुरुमा सामान्य हिँड्न सक्ने भए पनि विगत ४-५ वर्षदेखि भने हिँड्डुल गर्न नसक्ने अवस्थामा छन् ।  (रासस)

प्रकाशित समय : १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु