गृहपृष्ठ डा. केसी आजदेखि अनसनमा, के के छन् माग ?
डा. केसी आजदेखि अनसनमा, के के छन् माग ?
प्रा. डा. गोविन्द केसी सोमबार (आज)बाट फेरि अनसन बस्दै छन् । आफ्ना माग पूरा गर्न सरकारलाई पटक पटक अल्टिमेटम दिँदै आएका डा. केसीले सरकारले कात्तिक ८ गतेसम्म पनि माग पूरा नगरे कात्तिक १३ गतेदेखि अनसन बस्ने घोषणा गरेका थिए । तर, त्यस बेलामा तिहार भएको भन्दै उनले अनसन सारेका थिए ।
विगतका अनसनका क्रममा भएका धेरै सम्झौता कार्यान्वयन नभएको भन्दै पुनः अनसन बस्ने भएका हुन् । उनको अवकाशपछिको यो पहिलो अनसन हो । उनले त्रिवि शिक्षण अस्पतालको सेवाबाट असोज २७ गते अवकाश पाएका थिए ।
यस्ता छन् केसीका ७ बुँदे माग
१. हामीसँग अगाडि भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।
२. आन्दोलनरत विद्यार्थीका माग पूरा गर्दै निजी मेडिकल कलेजले अवैध रुपमा असुल गरेको सबै रकम फिर्ता गरियोस् । दोषी मेडिकल कलेजहरुलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस् ।
३. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा वृद्धि गर्नेलगायतका निर्णय तत्काल खारेज गरियोस् ।
४. विश्वविद्यालय पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने र सो प्रतिवेदनलाई अविलम्ब ऐनको रूप दिइयोस् ।
५. हामीसँग भएको सम्झौताअनुसार इलाम,पाँचथर, उदयपुर, डोटी र डडेल्धुरा लगायत प्रदेश २ र गण्डकी प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाइयोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस लगायतका कार्यक्रम सुरु गरियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिइयोस् ।
६. मतदाता र करदाताले साधारण रोगको पनि उपचार नपाउने तर शीर्ष नेताहरु उपचारका लागि विदेश जाने अवस्था रोकियोस् । नेताहरुको उपचार खर्च पारदर्शी बनाइयोस् । प्रधानमन्त्रीको यथार्थ स्वास्थ्य अवस्था सार्वजनिक गरियोस् ।
७. द्वन्द्वकालमा मानवताविरोधी कार्य गर्ने अपराधी अहिले पनि सत्तामा रहेर कारबाहीबाट बच्न संक्रमणकालीन न्यायसम्बन्धी अयोगहरुमा पार्टी कार्यकर्ता भर्ना गर्ने र ऐनलाई पीडितमैत्री बन्न नदिन चलखेल गरिरहेका छन् । तसर्थ, आयोगमा पार्टी सम्बद्ध व्यक्तिहरू नभई पीडितमैत्री विज्ञहरुलाई नियुक्ति गरियोस् र ती अपराधीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही गरियोस् ।
प्रकाशित समय : १५:५६ बजे



















