गृहपृष्ठ डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न ३ सदस्यीय समिति, आजै निलम्बन हुने
डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न ३ सदस्यीय समिति, आजै निलम्बन हुने
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न ३ सदस्यीय समिति गठन गरिएको छ । सोमबार बिहान गभर्नर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको राष्ट्र बैंक बोर्ड बैठकले छानबिन समिति गठन गरेको हो ।
सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा गठित समितिमा राष्ट्र बैंककै सञ्चालकहरू सुवोधकुमार कर्ण र रामजी रेग्मी सदस्य छन् । समितिले प्रतिवेदन बुझाएपछि श्रेष्ठमाथि आवश्यक कारबाही हुने बताइएको छ । तर, छानबिन समिति गठनलगत्तै निलम्बन हुने कानुनी व्यवस्था छ । राष्ट्र बैंकले आजै अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई छानबिन समिति गठनसम्बन्धी पत्र पठाइसकेको छ ।
श्रेष्ठमाथि छानबिन गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारीसहितको पत्र आइतबार अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पठाएको थियो ।
के के छन् आरोप ?
श्रेष्ठ २०७२ फागुनमा नेपाली कांग्रेस कोटाबाट डेपुटी गभर्नर बनेका हुन् । श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप छन् । त्यस्तै लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सहयोग गरेको आरोप उनीमाथि छ ।
प्रकाशित समय : १५:५९ बजे



















