गृहपृष्ठ सडकले संकटमा ‘चौरी डुलाउने’हरू
सडकले संकटमा ‘चौरी डुलाउने’हरू
गुफापोखरीका फुजुङ लामा किनमेलका लागि ट्याक्सी चढेर जब बसन्तपुरतिर झर्छन् । बाटोमा पर्ने लामपोखरी, मंगलबारे, चौकी, टुटेदेउराली, घुर्मिसे लगायतका स्थानमा पुग्दा अझै पनि उनलाई घण्टीको आवाज कानमा गुञ्जिएझैँ लाग्छ । गुराँसे वनको त्यो गोरेटोतिर चौरीको लर्कोलाई सुसेल्दै धपाएको अस्तिजस्तो लाग्छ उनलाई । त्यही बाटो हो, वनपाखा त्यही हो । जहाँ उनले वर्षौं बिताए, चौरी र खच्चडको ताँतीसँग ओहोरदोहोर गरेर ।
तर अवस्था त्यस्तो रहेन । ‘गुराँसको राजधानी’ भनिने त्यो क्षेत्रमा अहिले सडक पुगिसकेको छ । हजारौं गुराँसका रुख ढालेर बनाइएको बाटोमा केही वर्षयता गाडी गुड्न थालेका छन् । त्यसअघि तेह्रथुमको बसन्तपुरबाट संखुवासभाको चौकी, मङ्गलबारे, गुफा हुँदै ताप्लेजुङसम्मको रुटमा वर्षौदेखि चौरी र खच्चडमार्फत सामान ढुवानी हुँदै आएको थियो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल भएकाले पनि गुफापोखरी ‘चौरी रुट’को ‘जक्सन’ थियो ।
चौरी र खच्चडको योे रुटमा गाडी चल्न थालेपछि ढुवानी सहजताका कारण सामानको मूल्यसमेत घटेको छ । विकासका पूर्वाधारहरुले कुहिरोमा लुकामारी खेलिरहने लेकाली क्षेत्र टिएमजेको मात्र स्वरुप फेरिएको छैन, त्यहाँका बासिन्दाको दैनिकीसमेत बदलिएको छ । सडक बनेपछि सहजता त थपिएको छ । तर त्यही सहजतासँगै चौरी र खच्चड व्यवसाय भने संकटमा परेको छ ।
आफूले चौरी र खच्चड हिँडाएको बाटोमा गाडी गुडेपछि व्यवसायीहरु ‘अब अर्को के पेशा अपनाउने’ भन्ने चिन्ताले पिरोलिएका छन् । खच्चडको तुलनामा चौरी बढी पालिने यस क्षेत्रमा अहिले यो पेशा संकटमा परेको छ । लेकाली पातालहरु छिचोल्दै खर्कदेखि गाउँबस्ती र बजारसम्म हिउँद बर्ख नभनी ‘चौरी डुलाइहिँड्ने’हरु अचेल भेटिन छाडेका छन् ।
‘व्यवसाय नै संकटमा पर्लाजस्तो त लागेको थिएन,’ जोरपोखरी बस्ने ताप्लेजुङ पापुङका दोर्ची शेर्पा भन्दैथिए । सोलुखुम्बुको सल्लेरीबाट एक हप्ता हिँडाएर डेढ दर्जन चौरी गुफा ल्याई पुर्याएको दुई वर्ष नबित्दै उनलाई चिन्ता परेको छ, अब के गर्ने ? भन्छन्, ‘विक्री गर्नु पनि किन्ने कोही निस्किएका छैनन् ।’
ताप्लेजुङ याम्फुदिनका छेवाङ लामाको पीडा अझ चर्को छ । राम्रो फाइदा हुने देखेपछि ऋण लिएर चौरी किनेका उनलाई अहिले ‘निल्नु न ओकल्नु’ भएको छ । ‘ऋणको ब्याज बढेको बढ्यै छ,’ उनी भन्छन्, ‘बेचुँ किन्ने कोही निस्केको होइन, राखौँ काम पाइँदैन ।’ उनी टुटेदेउरालीदेखि ताप्लेजुङको गाउँ-गाउँसम्म तीनचार दिन हिँडाएर सामान लगेको ‘कथाजस्तै’ विगत सम्झन्छन् ।
‘भ्याइनभ्याई हुन्थ्यो उबेला । हिजोआज त बर्खाको बेला गाडी नचल्दा मात्र हो,’ उनले भने, ‘बाहिरी गाउँतिर पनि आक्कलझुक्कल मात्र भारी पाइन्छ ।’ धेरैजसोले चौरीसमेत बेचिसकेको उनले बताए । ‘राखेर के गर्नु ? कमाईले दाना खुवाउनै पुग्दैन,’ लामाले समस्या सुुनाए । उनका अनुसार गुफापोखरी क्षेत्रमा हिँडाइने चौरी र खच्चडहरु ताप्लेजुङ र संखुवासभाको उत्तरी सीमावर्ती क्षेत्रतिर बेचिएका छन् ।
समस्या दोर्ची र छेवाङको मात्र होइन । यो व्यवसाय गर्दै आएका दर्जनौंको चिन्ता र पिरलो फरक छैन । ‘लाख रुपैयाँ हाराहारी हालेर किनेको चौरी कतिले कौडीको भाउमा बेचेका छन्,’ गुफापोखरीका स्थानीय हरिप्रसाद खनाल सुनाउँछन्, ‘बेच्न नसकेकाहरुले मात्र जेनतेन व्यवसाय चलाएका हुन् ।’
हुन पनि सडक सञ्जालको बिस्तारले दुर्गम हिमाली जिल्लाहरुको अवस्था पुरै बदलिएको छ । कुनै समय तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सीमावर्ती डाँडैडाँडाको त्यो ‘चौरी रुट’मा सयौँ चौरी र खच्चडका बथान भारी बोकेर दैनिक ओहोरदोहोर गर्थे । मानिसलाई बोकाउनुभन्दा सस्तो पर्ने भएकाले केही वर्ष अघिसम्म व्यवसायीलाई भ्याइनभ्याई हुन्थ्यो ।
‘यो एरियामा मान्छेभन्दा चौरी र खच्चड बढी हुन्थे,’ गुफापोखरी बजारका पुराना बासिन्दा खनाल सम्झन्छन्, ‘अहिले त आधाजसो पनि देख्दिनँ, भा’को पनि काम नपाएर चउरमा छाडिदिन्छन् ।’ चौरी र याक मासिएपछि त्यो क्षेत्रको चिनारी जस्तै बनेको छुर्पी व्यवसायसमेत लोप हुन लागेकाेप्रति भने खनालले चिन्ता व्यक्त गरे । ‘यहाँ जो आए पनि छुर्पी सोध्छन्, पाउनै छाडिसक्यो,’ उनले भने ।
सडकले चौरी र खच्चड विस्थापित भएपछि बजार र बाटो भने सफा भएको कतिपय स्थानीयको भनाइ छ । ‘पहिले यो बाटो यस्तो कहाँ हुन्थ्यो र, हिँडिसक्नु हुन्थेन,’ एक स्थानीयले भने, ‘अहिले त कहाँ हो कहाँ सफा छ ।’
किनेर ल्याएकोदेखि पचास वर्षको उमेरसम्म एउटा चौरीले ६० केजीसम्म भारी बोक्न सक्छ । एउटा चौरीको मूल्य ७० हजारसम्म पर्ने व्यवसायीहरु बताउँछन् ।
प्रकाशित समय : ००:४६ बजे





















