गृहपृष्ठ भिर कटान गर्न नसक्दा मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
भिर कटान गर्न नसक्दा मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको नौ वर्ष बिते पनि झार्पा र कार्कीगाउँ बीचमा रहेको मन्ता भिरखण्डको बाटो निर्माण हुन नसक्दा समस्य हुँदै आएको छ ।
कुदुदेखि सुयाडासम्मको ८७ किमि सडकसमेत खुलिसकेको छ तर भन्ताभिरको ५ सय मिटर चट्टानका कारण नौ वर्षदेखि सडकको काम अलपत्र परेको हो । गत वर्षदेखि जाजरकोट खण्डको ३५ किमि सडकको स्तरोन्नतिको काम सुरु भएको छ । अन्य स्थानमा यातायातका साधन सञ्चालन भइरहेका छन् । मन्ता र कालढुंगा भिरका कारण जाजरकोट खण्डको पूरै ट्रयाक खुल्न नसकेको हो । एकैसाथ निर्माण सुरु भएको रुकुम र दैलेख खण्डमा भने दुई वर्षअघि नै स्तरोन्नतिको काम सुरु भएको थियो ।
अहिले दुवै जिल्लामा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । जाजरकोट खण्डमा भेरी नदी र थलहजारमा पुल बन्न नसक्दा सडक निर्माणले गति लिन नसकेको हो । मन्ता भिरमा काम गर्न छोडेको सात वर्ष बितिसकेको छ । मन्ताभिर खण्डको निर्माणको जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भएको भन्दै सडक निर्माणको काम अलपत्र पारेको हो । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग योजना कार्यालय दैलेखका प्रमुख नारायणप्रसाद निउरेका अनुसार ठेक्का लागेको नौ वर्षसम्म पनि भिर फुटाउने काम सम्पन्न हुन सकेको छैन ।
‘मन्ता भिरको ५ सय मिटर कडा चट्टान फोड्ने काम नहुँदा उक्त स्थान जटिल बन्यो । मन्ता भिर काट्न तयार नभएपछि ठेकेदारलाई पेनाल्टीसमेत लगाएर कारबाही गरियो,’ ‘मन्ता भिरको ५ सय मिटर कडा चट्टान फोड्ने काम नहुँदा उक्त स्थान जटिल बन्यो । मन्ता भिर काट्न तयार नभएपछि ठेकेदारलाई ‘पेनाल्टी’ समेत लगाएर कारबाही गरियो,’ उनले भने, ‘तर अझै पनि उक्त भिर कसरी फोड्ने भन्नेबारे अन्योल छ ।’ उनले चालु आवभित्र भिर फोड्ने काम सकिने आशा व्यक्त गरे ।
चालु आवमा लोकमार्गको कार्की गाउँबाट दसेरा हुँदै सुयाँडासम्मका लागि स्तरोन्नतिको ठेक्का टेन्डर कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साढे २ अर्ब रुपैयाँको लगानीमा स्तरोन्नतिका लागि बहुवर्षीय ठेक्का भएको हो । बोलपत्रको प्राविधिक कामको मूल्यांकन भइरहेको योजना प्रमुख निउरेले जानकारी दिए । उनले उक्त बोलपत्रबाट मन्ता भिरको समस्या समाधान हुने बताए । थलहबजारको पुल निर्माणको काम पनि चालु आवमै सकिने उनको दाबी छ ।
उता पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्न भेरी नदीमा पुल निर्माणको काम सुरु भएको सात वर्ष बिते पनि अझै पूरा हुन सकेको छैन । पुलको जगसमेत पूरा हुन नसकेको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न हुनुपर्ने पुलको पिलर काम पनि काम हुन नसकेको हो । पुल निर्माणका लागि वाइपी कन्स्ट्रक्सन प्रालि ललितपुरले २०६९ सालमा ठेक्का सम्झौता गरेको थियो । ‘स्तरोन्नतिपछि सडकमा सात मिटर पिचसहित नौ मिटर चौडाइको लोकमार्ग बन्नेछ,’ निउरेले भने, ‘तीन वर्षभित्र सडक स्तरोन्नतिको काम पूरा गर्ने लक्ष्य छ ।’ यो ठेक्का खोल्नु नै जाजरकोटका लागि छलाङ भएको उनले दाबी गरे । पाँचथरको चियोभन्ज्याङदेखि बैतडीको झुलाघाट पुग्ने १ हजार ६६५ किमिको लोकमार्गको जाजरकोट खण्डले दुई नगरपालिकालाई मात्र छोएको छ । (रासस)
प्रकाशित समय : १८:४० बजे



















