गृहपृष्ठ उद्योग र उद्यमशीलताको विकासविना समृद्धि सम्भव छैन : मन्त्री गुरुङ
उद्योग र उद्यमशीलताको विकासविना समृद्धि सम्भव छैन : मन्त्री गुरुङ
नवनियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकासबिना मुलुकको समृद्धि सम्भव नहुने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा छलफल गर्दै उनले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन र विकास अपरिहार्य भएको बताए ।
स्थानीयस्तरमा आफ्नै कच्चा पदार्थबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवर्धन र बजारीकरणबाट नै व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने भन्दै मन्त्री गुरुङले यस्ता उद्योगको संरक्षण र प्रवर्धनका लागि मन्त्रालय, अन्तरमन्त्रालय र सरकारसँग पनि छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्रालयबाट पनि महिला उद्यमशीलता र यस्तै अरु क्षेत्रमा काम भइरहेको जनाउँदै उनले आगामी दिनमा महासंघसँगको सहकार्य र छलफलबाट अगाडि बढ्ने सोच रहेको बताए ।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकको तीव्र आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै बेलैमा यस्ता उद्योगको विकास र प्रवर्धन गर्न नसकिए केही वर्षपछि आफैं बन्द हुने उनको भनाइ छ ।
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै उनले अहिले सञ्चालित हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाको क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रकाशित समय : १८:३२ बजे



















