काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दरबारमार्गमा काग सम्मेलन, सयौं काग एकै ठाउँमा भेला

1.64K
shares

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काठमाडौंको नारायणहिटी दरबार अगाडि सयौं कागलाई एकै ठाउँमा भेला पारेर २३ औं ‘काग सम्मेलन’ सम्पन्न गरिएको छ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहारका अवसरमा यो अनोठौं सम्मेलन आयोजना गरेको हो।

सम्मेलनमा कलाकार रमेश दुलालले कागको हुबहु आवाज निकालेर आकाश र वरपरका रुखमा रहेका सयौं कागलाई कार्यक्रमस्थलमा उतारेका थिए।

उनले कागको बोली निकाल्न थालेपछि छिनभरमै दरबारमार्ग क्षेत्र कागले भरिएको थियो। कलाकार दुलालले १७३ जीवजनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने दाबी गरिएको छ।

कागको संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका तथा नेपाली मौलिक संस्कृतिमा यसको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यले सम्मेलन गरिएको आयोजकले जनाएको छ।

नेपाली समाजमा कागलाई सन्देशवाहक र यमराजको दूतका रूपमा लिने धार्मिक परम्परा छ। काग तिहारका दिन यसलाई पूजा गरी खानेकुरा दिएमा अशुभ समाचार सुन्नु नपर्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने जनविश्वास रहिआएको छ।

धार्मिक मान्यताअनुसार कागले मानिसको सन्देश यमराजसमक्ष पुर्‍याउने विश्वास गरिन्छ। सोही परम्पराअनुसार आज बिहानै घरको छत, आँगन वा खुला ठाउँमा दुना-टपरीमा विभिन्न परिकार राखेर कागलाई बोलाउँदै खुवाइएको छ।