श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने
वि.सं.२०८३ कात्तिक ९ सोमवार १०:५६
shares

सारांश
- श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।
- एनपिएलको तेस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
काठमाडौं । श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।
जनकपुरले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आज परेरालाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।
जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपिएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् ।
परेराले यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), पाकिस्तान सुपर लिग (पिएसएल)सहित विभिन्न सात फ्रेन्चाइज लिग खेलिसकेका छन् । एनपिएल उनका लागि आठौँ लिग हुनेछ ।
श्रीलङ्काको राष्ट्रिय टोलीबाट तीनवटै प्रारूपमा खेलेका परेराले टेष्ट क्रिकेटमा २२ खेलबाट एक हजार १७७, एकदिवसीय अन्तरराष्ट्रियमा ११६ खेलबाट तीन हजार २३७ तथा टी–२० अन्तरराष्ट्रियमा ९५ खेलबाट दुई हजार ३३५ रन बनाएका छन् ।
जनकपुरले परेरासहित इङ्ग्ल्याण्डका मोइन अली, न्युजील्यान्डका जिमी नीशम, पाकिस्तानका इफ्तिखार अहमद, अमरिकाका हरमित सिंहलगायतलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ । एनपिएलको तेस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
























