काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एआईबाट बनेका सामग्री पहिचान गर्न टिकटकका नयाँ पहल

903
shares

काठमाडौं । सामाजिक सञ्जाल टिकटकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जना गरिएका सामग्री पहिचान गर्न र तिनको जिम्मेवार प्रयोगबारे प्रयोगकर्तालाई जानकारी दिन नयाँ पहल अघि बढाएको छ। कम्पनीले एआईसम्बन्धी साक्षरता बढाउने, एआई स्पाम सामग्री पोस्ट गर्ने अकाउन्ट पहिचान गर्ने प्रणाली परीक्षण गर्ने र सामग्रीको पारदर्शिता बढाउने कार्यक्रम विस्तार गरेको हो।

टिकटकका अनुसार नयाँ पहलले प्लेटफर्ममा एआईको जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्नुका साथै वास्तविक सामग्री सिर्जना गर्ने क्रिएटरको संरक्षण र प्रयोगकर्तालाई एआई सामग्रीबारे थप जानकारी दिन सहयोग गर्नेछ।

टिकटकले एआईसम्बन्धी जानकारी र शैक्षिक सामग्री उपलब्ध गराउन नयाँ इन–एप एआई हब सञ्चालनमा ल्याएको छ। नेपालसहित विश्वभर उपलब्ध यो सुविधामार्फत प्रयोगकर्ताले एआईबाट सिर्जना गरिएका सामग्री कसरी पहिचान गर्ने र एआई टुल्सलाई जिम्मेवारीपूर्वक कसरी प्रयोग गर्ने भन्नेबारे जानकारी लिन सक्नेछन्।

टिकटकमा एआईसँग सम्बन्धित शब्द खोज्दा सर्च रिजल्टमा एआई हब देखिने कम्पनीले जनाएको छ। यसमा एआईसम्बन्धी गाइड, शैक्षिक सामग्री र व्यावहारिक जानकारी समावेश छन्।

टिकटकले मिडिया साक्षरता संस्था NAMLE र एआई विज्ञ हेनरी अज्डरसँगको सहकार्यमा एआई टुल्सको जिम्मेवार प्रयोगसम्बन्धी नयाँ गाइड पनि तयार गरेको छ।

कम्पनीका अनुसार सन् २०२५ नोभेम्बरमा एआई साक्षरता कार्यक्रम सुरु भएयता NoFiltr र Raspberry Pi Foundation लगायतका संस्थाले तयार पारेका सामग्रीले २० करोडभन्दा बढी भ्युज पाएका छन्। यस कार्यक्रमअन्तर्गत टिकटकले हालसम्म ४० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ। आगामी दिनमा पनि कार्यक्रमको पहुँच र प्रभाव विस्तार गर्न लगानी जारी राख्ने कम्पनीको योजना छ।

टिकटकले एआईबाट सिर्जना गरिएका स्पाम सामग्री पोस्ट गर्नकै लागि बनाइएका अकाउन्ट पहिचान गर्न थप प्रभावकारी प्रणालीको परीक्षण गर्ने जनाएको छ। विशेषगरी जनविश्वास र सार्वजनिक हितमा असर पार्न सक्ने विषयमा यस्तो निगरानीलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

टिकटकका अनुसार सन् २०२६ को पहिलो तीन महिनामा मात्रै ८ करोड ६० लाखभन्दा बढी नक्कली अकाउन्ट हटाइएको छ। त्यस्तै, कन्टेन्ट क्रिडेन्सियल्स, क्रिएटरले सामग्रीमा लेबल राख्न प्रयोग गर्ने टुल र नदेखिने वाटरमार्क प्रविधिको प्रयोग गरेर तीन अर्बभन्दा बढी भिडियोमा एआईबाट सिर्जना गरिएको सामग्रीको लेबल राखिएको कम्पनीको दाबी छ।

टिकटकले कन्टेन्टको स्रोत र प्रामाणिकता पहिचान गर्न सहयोग गर्ने Coalition for Content Provenance and Authenticity (C2PA) को स्टेयरिङ कमिटीमा सहभागी हुँदै सामग्रीको पारदर्शिता प्रवर्द्धन गर्ने प्रयास अघि बढाएको छ।

यसका साथै कम्पनीले Smart Split र AI Outline जस्ता एआईमा आधारित सिर्जनात्मक टुल्स विकास गरिरहेको छ। प्रयोगकर्ताले आफ्नो फिडमा हेर्ने एआईबाट सिर्जना गरिएका सामग्रीको मात्रा छनोट गर्न सक्ने सुविधा दिन Manage Topics जस्ता फिचरको परीक्षण पनि भइरहेको टिकटकले जनाएको छ।

कम्पनीका अनुसार यी पहल एआईको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्नुका साथै प्रयोगकर्ताको सुरक्षा, सामग्रीको पारदर्शिता र आफ्नो डिजिटल अनुभवमाथिको नियन्त्रण बढाउने रणनीतिका हिस्सा हुन्।