कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म आउने
वि.सं.२०८३ असोज २९ बिहीवार १२:४२
shares

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी दिएका छन्।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। अब केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी छ। निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणामसमेत आजै सार्वजनिक गर्ने तयारी गरेको हो।
सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन्। उनले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए। सभापति पदको निर्वाचनमा ७ हजार १३ मत खसेको थियो।
त्यस्तै, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्। सहमहामन्त्रीका विभिन्न समूहको मतपरिणाम पनि सार्वजनिक भइसकेको छ। खुला तर्फ अजयबाबु शिवाकोटी र रामहरि खतिवडाले जित हासिल गरिसकेका छन्।
केन्द्रीय सदस्यतर्फ भने खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना भइरहेको छ। खुला केन्द्रीय सदस्यतर्फ ४५ पदका लागि प्रतिस्पर्धा छ। धेरै उम्मेदवार र ठूलो संख्यामा मतपत्र गणना गर्नुपर्ने भएकाले सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्न समय लागेको हो। निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना अघि बढाइरहेको छ।
बाँकी समूहको गणना सम्पन्न गरी आज रातिसम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने लक्ष्य समितिले राखेको छ। सम्पूर्ण मतपरिणाम सार्वजनिक भएसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण संरचना टुंगो लाग्नेछ।
























