काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

714
shares

गोरखा – बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढी प्रभावित क्षेत्रबाट एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। आइतबारदेखि बिहीबारसम्म नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी एक हजार ४४ जनालाई सुरक्षित स्थानमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक रहेका छन्। बाढीका कारण उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा रहेका नागरिक फसेका थिए। सडक तथा पदमार्ग अवरुद्ध हुँदा उद्धार र राहत वितरणका लागि हेलिकोप्टर प्रयोग गर्नुपरेको शर्माले बताए।

उनका अनुसार बाढी आएको पहिलो दिन आइतबार ९६ जनाको उद्धार गरिएको थियो। सोमबार ३२१, मङ्गलबार १८६ र बुधबार ४४१ जनालाई उद्धार गरिएको हो।

उद्धार कार्यसँगै प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्रता दिइएको छ। सरकार तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार र जेनेरेटरलगायत सामग्री वितरण भइरहेको शर्माले बताए।

उनका अनुसार प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन र नागरिकको उद्धार गर्न एउटै हेलिकोप्टरलाई दोहोरो काममा प्रयोग गरिएको छ।

“राहत वितरण गर्नका लागि पनि हेलिकोप्टरकै प्रयोग भइरहेको छ। यताबाट उद्धार गर्न जाने हेलिकोप्टरले राहतका सामग्री लैजाने र उताबाट आउँदा मानिसलाई उद्धार गरेर ल्याउने गरेको छ”, उनले भने।

रेडक्रसद्वारा प्रतिकार्य तीव्र
यसैबीच, नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि राहत तथा उद्धारसम्बन्धी प्रतिकार्यलाई तीव्रता दिएको छ।

रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालका अनुसार बाढीबाट भएको क्षतिको आकलन गर्न तथा तत्काल मानवीय सहायता उपलब्ध गराउन स्वयंसेवक परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा गैरखाद्य सामग्री पुर्‍याउने कामसमेत भइरहेको उनले जानकारी दिए।

“बाढी गएको सूचना प्राप्त गर्नासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र पश्चिमका स्वयंसेवकलाई परिचालन गर्‍यौँ। उहाँहरूले पूर्वसूचना प्रवाहित गर्नुभयो। प्रतिकार्य जारी छ”, खनालले भने।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँगको सहकार्य तथा समन्वयमा प्रभावित क्षेत्रमा त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट र डिग्निटी किटलगायत गैरखाद्य सामग्री पठाइएको रेडक्रसले जनाएको छ। प्रभावित क्षेत्रमा अस्पताल सञ्चालन गर्न सकिने दुई ठूला टेन्टसमेत पुर्‍याइएको खनालले बताए।

बाढीबाट भएको क्षतिको विस्तृत अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको र थप आवश्यक राहत सामग्री सरकारसँगको समन्वयमा पठाउने तयारी भइरहेको उनले जानकारी दिए। प्रभावित नागरिकलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन रेडक्रसका स्वयंसेवक निरन्तर खटिरहेको खनालले बताए।