भैँसीपालनसँगै व्यापार गर्दै सलीम
वि.सं.२०८३ असोज २७ मंगलवार १३:२७
shares

दाङ । भैँसीको खरिद/बिक्रीबाट सलीम खानले राम्रै व्यापार जमाएका छन ।
उनको मुख्य पेसा भैँसीपालनसँगै व्यापार पनि हो । दाङ देउखुरी गढवा गाउँपालिका–५ चैनपुर निवासी खानको दैनिकी भैँसी व्यापारमा नै बित्ने गरेको छ ।
उनले यो व्यावसाय गर्न थालेको तीन दशक पुग्यो । भैँसी खरिद गरेर दाङका विभिन्न ठाउँसँगै छिमेकी जिल्ला प्युठान, रोल्पा, अर्घाखाँची, गुल्मीसम्म बिक्रीका लागि लैजाने गर्छन । खानले छोरालाई पढाउनेदेखि घरखर्च चलाएर बचेको पैसाबाट करिव एक बिघा जग्गा खरिद गरेका छन ।
“मैले यस अवधिमा थोरै थोरै पैसा बचाउँदै एक बिघा जग्गा जोडेको छु”, उनले भने, “अहिलेको बजार मूल्यअनुसार करिब उक्त जग्गा ३० देखि ३५ लाख मूल्य बराबरको छ ।” गाउँघरमा भैँसी खरिद गरी रोल्पा, प्युठान, अर्घाखाँचीदेखि गुल्मीसम्म पु-याएर बेच्दै आएका खानले भैँसी व्यापारबाट गाउँमा एक बिघाभन्दा बढी जग्गा जोड्न सफल भएका हुन ।
उनलाई व्यापारमा दुई छोराले मद्दत गर्दै आएका छन् । खानका छोरा समिरका अनुसार भैँसी व्यापार गर्दा राम्रो आम्दानी भइरहेको बताउछन । घरमै बसेर बुबासँगै काम गर्न पाउँदा उनलाई पनि खुसी लागेको छ । घरमा प्रायः सात/आठ वटा भैँसी भइरहन्छन् । उक्त भैँसी व्यापारका लागि मौज्दातमा राखिएको हो ।
सलीमलाई भैँसी खरिद बिक्री गर्दा महिनामा ४० देखि ५० हजारसम्म नाफा हुने गरेको छ । “घरको मुख्य आम्दानीको स्रोत भनेकै भैँसी व्यापार हो, आम्दानी भएन भने कसरी गर्ने”, उनले भने, “आम्दानी राम्रै हुने गरेको छ ।”
उनका अनुसार दूध दिने भैँसी ५०/६० हजारदेखि एक लाख ५० हजारसम्म बिक्री हुने गरेको छ । पहिलेको तुलनामा भैँसी पाल्ने मानिस घटे पनि भैँसीको मूल्य बढेका कारण आम्दानी राम्रै हुने गरेको उनि बताउछन ।
पहिले जग्गा जमिन नहुँदा व्यापार गर्न सजिलो होला भनेर गरेको व्यापारले जग्गा थप्दै गएको सलीम बताउछन । उनले १० वर्षअघि ‘समिर भैँसी फर्म’ दर्ता गरेका थिए । फर्म दर्ता नहुँदा जिल्ला बाहिर व्यापारका लागि जाँदा समस्या हुन थालेको भन्दै उनले भने, “सुरुमा फर्म दर्ता थिएन, दर्ता नहुँदा जिल्ला बाहिर व्यापारका लागि जाँदा समस्या हुन थाल्यो ।”
























