एनसेल र सामसङबीच सहकार्य, ग्राहकहरुलाई ३१ प्रतिशतसम्म छुट
वि.सं.२०८३ असोज २७ मंगलवार १२:३२
shares

काठमाडौं । एनसेलका ग्राहकले सामसङका घरायसी विद्युतीय उपकरण खरिद गर्दा ३१ प्रतिशतसम्म छुट पाउने भएका छन्। एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरण खरिदमा ग्राहकलाई अतिरिक्त छुट उपलब्ध गराउने भएको हो।
चाडपर्वलाई लक्षित गरी सामसङले उपलब्ध गराउँदै आएको छुटमा एनसेलका योग्य ग्राहकले थप १२ प्रतिशतसम्म छुट पाउनेछन्। यसबाट ग्राहकले कुल ३१ प्रतिशतसम्म बचत गर्न सक्नेछन्। ग्राहकले पाउने अतिरिक्त छुट ५, ८ वा १२ प्रतिशत हुनेछ, जुन उनीहरूले लिएको प्याक वा रेन्टल प्याकमा निर्भर रहनेछ।
एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा सहकार्यलाई औपचारिक रूप दिइएको हो। दुवै कम्पनीले यस सहकार्यले ग्राहकलाई थप लाभ प्रदान गर्नुका साथै सेवा अनुभवलाई सहज र लाभदायी बनाउने विश्वास व्यक्त गरेका छन्।
यो अफर असोज २२ देखि कात्तिक ३० सम्म लागू हुनेछ। यस अवधिमा दसैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्व पर्छन्।
एनसेलका प्रोडक्ट डाइरेक्टर शारदाले एनसेलले दूरसञ्चार सेवामा मात्र सीमित नभई ग्राहकलाई थप मूल्य र लाभ प्रदान गर्ने लक्ष्य राख्दै आएको बताए। यही प्रतिबद्धताअनुसार सामसङसँग सहकार्य गर्न पाउँदा खुसी लागेको उनले बताए।
यस सहकार्यबाट ग्राहकले विश्वासिलो ब्रान्डका घरायसी विद्युतीय उपकरण खरिद गर्दा अतिरिक्त छुट पाउने र चाडपर्वको खुसी थप बढ्ने विश्वास उनले व्यक्त गरे।
उनका अनुसार यस सहकार्यले एनसेलको देशव्यापी ग्राहक पहुँच र डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन तथा आधिकारिक बिक्री सञ्जालसँग जोडेको छ। यसबाट ग्राहकले थप सहज रूपमा छुटको सुविधा लिन सक्नेछन्।
कसरी लिने छुट?
छुट प्राप्त गर्न योग्य एनसेल ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गर्नुपर्नेछ। त्यसपछि नेपालभरिका सहभागी सामसङ आधिकारिक बिक्री केन्द्रमा गई छुटसहित उपकरण खरिद गर्न सक्नेछन्।
























