काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कपिलवस्तुमा चाडपर्व लक्षित ६४ वटा क्यूआरटी परिचालन

208
shares

कपिलवस्तु। चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न कपिलवस्तुमा ६४ वटा दु्रत प्रतिक्रिया टोली (क्यूआरटी) परिचालन गरिएको छ । जिल्लाभर सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आजदेखि परिचालन गरिएका टोलीले घटना तथा दुर्घटनाको सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेर आवश्यक कारबाही गर्नेछन् ।

प्रत्येक टोलीमा एउटा मोटरसाइकलमा दुई जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । उनीहरू आवश्यक हातहतियार, सञ्चार सेट तथा अन्य सुरक्षा सामग्रीसहित परिचालित हुने उनको भनाइ छ । विशेषगरी सवारीसाधन पुग्न कठिन हुने र पैदल हिँडेर पुग्न समय लाग्ने स्थानमा तत्काल प्रहरी सेवा उपलब्ध गराउन क्यूआरटी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक भट्टले घटना, दुर्घटना वा कुनै पनि प्रकारका आपराधिक गतिविधिको सूचना प्राप्त हुनासाथ छिटो घटनास्थलमा पुगेर प्रतिक्रिया दिन टोली परिचालन गरिएको बताउनुभयो । उनका अनुसार चाडपर्वका समयमा हुन सक्ने चोरी, तस्करीलगायत आपराधिक गतिविधि नियन्त्रण गर्न तथा सीमा क्षेत्रमा निगरानी बढाउन क्यूआरटी टोलीले जिल्लाका विभिन्न स्थानमा गस्ती गर्नेछ ।

चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइएको उल्लेख गर्दै प्रहरी उपरीक्षक भट्टले शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरे ।