काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योग बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

403
shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन्। उनले नयाँ पुस्ताका प्रतिभालाई व्यावसायिक करियर निर्माणको अवसर उपलब्ध गराउँदै ग्रामीण तथा दुर्गम क्षेत्रका कलाकारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

राष्ट्रिय संगीतकर्मी संघले आइतबार आयोजना गरेको दसैँ विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अग्रवालले नेपाली संगीत मनोरञ्जनको माध्यम मात्र नभई राष्ट्रिय पहिचान, संस्कृति र मौलिकताको महत्त्वपूर्ण आधार भएको बताए।

नेपाली संगीतलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कलाकारको सिर्जनात्मक अधिकारको संरक्षण, उचित पारिश्रमिक र डिजिटल प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको उनको भनाइ थियो।

अग्रवालले नेपाली लोकसंगीत, हिमाली तथा पहाडी क्षेत्रका मौलिक धुन, तराईका सांस्कृतिक भाका र आधुनिक नेपाली गीतले नेपालको विशिष्ट सांस्कृतिक पहिचान निर्माण गरेको उल्लेख गरे। सीमित स्रोतसाधनका बाबजुद नेपाली संगीतलाई डिजिटल प्लेटफर्म र अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सफल अग्रज कलाकारको योगदानको प्रशंसा गर्दै उनले नयाँ पुस्ताले यसलाई थप उचाइमा पुर्‍याउनुपर्ने बताए।

कलाकार राष्ट्रका सांस्कृतिक दूत भएको उल्लेख गर्दै उनले नेपाली संगीतलाई सांस्कृतिक कूटनीति, पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्नुपर्ने धारणा राखे। नेपाली संगीतको विश्व बजार विस्तारका लागि सरकार, निजी क्षेत्र, संगीत क्षेत्र, सञ्चारमाध्यम र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए।

कलाकारको सम्मान ताली, पुरस्कार र प्रशंसामा मात्र सीमित हुन नहुने भन्दै अग्रवालले बौद्धिक सम्पत्तिको संरक्षण, प्रतिलिपि अधिकारको प्रभावकारी कार्यान्वयन, डिजिटल रोयल्टीमा पारदर्शिता र सिर्जनाको उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

डिजिटल प्रविधि, स्ट्रिमिङ प्लेटफर्म, सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता (एआई) को विकासले संगीत क्षेत्रमा नयाँ अवसरसँगै चुनौती पनि थपेको उनले बताए। प्रविधिले कलाकारको सिर्जनात्मक क्षमता विस्तार गर्नुपर्ने, तर सिर्जनामाथिको अधिकार कमजोर पार्ने माध्यम बन्न नहुने उनको भनाइ थियो। डिजिटल पाइरेसी, प्रतिलिपि अधिकार उल्लङ्घन र अनधिकृत सामग्री प्रयोग नियन्त्रण गर्न समयानुकूल कानुनी तथा संस्थागत व्यवस्था आवश्यक रहेको उनले उल्लेख गरे।

अग्रवालले नेपाली संगीत र पर्यटनबीचको सम्बन्धलाई पनि उजागर गरे। मौलिक संगीतलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय गन्तव्यको प्रवर्द्धनसँग जोड्न सके अन्तर्राष्ट्रिय बजार विस्तारसँगै रोजगारी र आर्थिक गतिविधिमा समेत योगदान पुग्ने उनले बताए।

दसैँजस्ता चाडपर्वले पारिवारिक पुनर्मिलन, आत्मीयता र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उल्लेख गर्दै उनले चाडपर्वमा गाउँघर र परिवारमा गुञ्जिने गीतसंगीतले मातृभूमिप्रतिको माया, सामाजिक सद्भाव र सांस्कृतिक स्मृतिलाई जीवन्त बनाउने बताए।

समाजमा निराशा, असन्तुष्टि र विभाजन बढिरहेका बेला आशा, विश्वास र सकारात्मक सन्देश प्रवाह गर्न संगीतको महत्त्वपूर्ण भूमिका रहने उनले बताए। भौतिक पूर्वाधारसँगै कला, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण तथा प्रवर्द्धनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले नेपाली कला, संस्कृति, संगीत र चाडपर्वले सामाजिक सद्भाव, आपसी एकता तथा राष्ट्रिय पहिचानलाई बलियो बनाउने बताए।

विशिष्ट अतिथिका रूपमा मन्तव्य राख्दै मल्होत्राले कला, साहित्य र संगीत क्षेत्रको विकासका लागि राज्यले प्राथमिकता दिनुपर्ने उल्लेख गरे। नेपाली मौलिक संस्कृति र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन संगीतकर्मी, कलाकार, सञ्चारकर्मी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए।

देशको समग्र विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र राष्ट्रिय विकासका अभियानमा सबै एकजुट हुनुपर्ने धारणा राखे। कलाकार तथा स्रष्टाको योगदानको सम्मान गर्दै सिर्जनात्मक क्षेत्रको विकासमा राज्यले उचित ध्यान दिनुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालको सभापतित्व तथा संघका वरिष्ठ उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, संगीतकर्मी, स्रष्टा तथा समाजसेवीको उपस्थिति थियो। कार्यक्रममा दसैँलगायतका चाडपर्वको शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न स्रष्टालाई सम्मान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष अग्रवालले सम्पूर्ण कलाकार, संगीतकर्मी तथा उनीहरूका परिवारजनमा बडादसैँ, तिहारलगायतका चाडपर्वको शुभकामना व्यक्त गर्दै नेपाली संगीतको विकास, कलाकारको सम्मान र सिर्जनात्मक क्षेत्रको समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।