काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बुढीगण्डकी बाढी : ८२ जनाको उद्धार, पाँच जना अझै सम्पर्कविहीन

455
shares

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट हालसम्म नौ जना विदेशी नागरिकसहित ८२ जनाको उद्धार गरिएको छ । बाढीबाट पाँच जना सम्पर्कविहीन रहेका छन् भने घर, पुल, जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार साँझ ६ बजे जारी गरेको प्रेस नोटअनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्लिङ नजिकै उङ्गिलुङ खोलाबाट गेग्रानसहितको बहाव आई स्यारखोला थुनिएको र केही समयपछि फुट्दा बुढीगण्डकी नदीमा लेदोसहितको ठूलो बाढी आएको प्रारम्भिक विश्लेषण गरिएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन थप अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङका भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीबाट ४५ घर पूर्ण रूपमा र २७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै, दुईवटा पक्की पुल र दुईवटा झोलुङ्गे पुलमा क्षति पुगेको विवरणमा उल्लेख छ ।

बाढीले तीनवटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ भने चारवटा हवनकुण्डमा समेत क्षति पुगेको जनाइएको छ । यसका साथै ३४ वटा गोठ, १२ वटा बंगुरको खोर तथा गोदाम र तीनवटा सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

क्षतिको विवरण अद्यावधिक गर्ने काम जारी रहेकाले क्षतिको वास्तविक परिमाण थप बढ्न सक्ने देखिएको छ ।

बाढी प्रभावित क्षेत्रबाट नागरिकको उद्धार गर्न नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको प्राधिकरणले जनाएको छ । हेलिकोप्टरमार्फत हालसम्म ८२ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढीको सूचना प्राप्त हुनासाथ प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसहित केन्द्रका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएसमार्फत सूचना पठाएको थियो ।

त्यस्तै, बाढी पूर्वानुमान महाशाखामा बिहान ६ बजे सूचना प्राप्त भएपछि गोरखा, धादिङ हुँदै चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिएको थियो ।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी ७०३ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।

जसमध्ये नेपाली सेनाका १७१ जना, नेपाल प्रहरीका १४३ जना र सशस्त्र प्रहरी बल नेपालका ३८९ जना छन् । नेपाली सेनाको टोलीमा तीनवटा स्पेसल फोर्ससमेत परिचालन गरिएको छ ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठक निरन्तर बसेर बाढीको अवस्थाको अनुगमन, क्षतिको विश्लेषण तथा उद्धार र राहत कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, विपद् परिचालन टोलीको बैठक बसेर हालसम्म भएका कामको समीक्षा, क्षतिको विवरण अद्यावधिक तथा आगामी प्रतिकार्य योजनाबारे छलफल गरिएको छ ।

बाढी प्रभावित नागरिकका लागि सडक तथा हवाई मार्गबाट राहत सामग्री पठाइएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा टेन्ट, त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट, स्लीपिङ ब्याग, सोलार लाइट, किचेन सामग्री, जेनेरेटर, ज्याकेट, हाइजिन किट, फुड बास्केट, बेबी बास्केटलगायत सामग्री पठाइएको विवरणमा उल्लेख छ ।

बाढीको वास्तविक कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको तीन सदस्यीय प्राविधिक टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

बाढीबाट प्रभावित हुन सक्ने नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको छ ।

त्यसैगरी, गोरखा, तनहुँ र लमजुङका अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई पनि तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरिएको हो ।

प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, क्षतिको विवरण सङ्कलन तथा विपद्को कारण पहिचान गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।