शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस
वि.सं.२०८३ असोज २५ आइतवार १७:४८
shares

सारांश
- लगानी सुरक्षा, नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
- शिक्षा क्षेत्रको सुधारका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक ।
- कुसुम महर्जनले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले शिक्षा क्षेत्रका समस्या समाधान गर्न संवाद र सहकार्य आवश्यक रहेको बताए ।
ललितपुर । शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), ललितपुर जिल्ला कार्यसमितिले आज आयोजना गरेको बृहत् शैक्षिक बहसमा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रको सुधारका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
बहसमा प्रतिनिधिसभा सदस्य कुसुम महर्जनले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले शिक्षा क्षेत्रका समस्या समाधान गर्न संवाद र सहकार्य आवश्यक रहेको बताए । उनले निजी विद्यालयमा छोराछोरी पढाउने सबै अभिभावक आर्थिक रूपमा सम्पन्न नहुने उल्लेख गर्दै अभिभावकको त्याग र अपेक्षाअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सञ्चालकलाई आग्रह गरे ।
शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले निःशुल्क शिक्षाको अर्थ शुल्क नलाग्ने मात्र नभई सबै बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने सुनिश्चितता हुनु रहेको बताए । शिक्षाका लागि आवश्यक स्रोत करदाताले तिरेको करबाट जुटाइने उल्लेख गर्दै उनले सबै भौगोलिक क्षेत्र र आर्थिक अवस्थाका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने दायित्व राज्यको भएको बताए ।
कक्षा १२ सम्म निःशुल्क तथा अनिवार्य शिक्षाको अवधारणाबारे चर्चा गर्दै उनले निजी विद्यालयले पनि शैक्षिक गुणस्तर सुधारमा योगदान गरिरहेको बताए। राज्यको दीर्घकालीन शिक्षा नीतिले निजी विद्यालयको भविष्य र अभिभावकको विद्यालय छनोटको अधिकारलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो ।
























