बूढीगण्डकीमा भीषण बाढीको जोखिम : उद्धारका लागि हेलिकप्टर परिचालन
वि.सं.२०८३ असोज २५ आइतवार ०९:०४
shares

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बूढीगण्डकी नदीको बाढीले बगाएको बताइएको छ । घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय प्रशासनको समन्वयमा उद्धार, राहत र प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टरसमेत परिचालन गरिएको छ ।
नदीको बहाव बढिरहेको अवस्थामा नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा जान र सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई धैर्य राख्न, सतर्क रहन र आफ्नो सुरक्षालाई प्राथमिकता दिन मन्त्रालयले अनुरोध गरेको छ । आपत्कालीन अवस्थामा आवश्यक सहयोगका लागि गृह मन्त्रालयको हेल्पलाइन १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
























