गृहपृष्ठ बेनी–जोमसोम सडक मर्मतमा इन्धन अभाव मुख्य चुनौती
बेनी–जोमसोम सडक मर्मतमा इन्धन अभाव मुख्य चुनौती
म्याग्दी । गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ।
असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि आएको बाढीपहिरोले पर्वतको मालढुङ्गादेखि मुस्ताङको घाँसासम्म करिब ५० किलोमिटर सडकखण्डमा ४६ भन्दा बढी स्थानमा सडक अवरुद्ध बनाएको थियो।
मुस्ताङतर्फबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी तथा पर्वतको मालढुङ्गाबाट म्याग्दीको राहुघाटसम्मको सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ। तर रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह तथा स्विचयार्ड परिसरमा रहेको ‘ग्यान टिटावर’ हटाउन भएको ढिलाइ र मौजुदा इन्धन सकिएपछि सडक मर्मतमा समस्या भएको हो।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार तिल्केनीचौर–पोखरेबगर खण्डमा पहिरो पन्छाउने, पहाड काट्ने तथा फिलिङ गर्ने कामका लागि आवश्यक डोजर, लोडर, ब्याकहो लोडर र टिप्पर सञ्चालन गर्न डिजेल अभाव भएको छ।
“तिल्केनीचौर–पोखरेबगर खण्डमा पहिरो पन्छाउने, पहाड काट्ने र फिलिङ गर्न डोजर, लोडर, ब्याकहो लोडर तथा टिप्पर चलाउन डिजेलको अभाव भएको छ,” उहाँले भन्नुभयो, “तिल्केनीचौरमा टावर हटाउन भएको ढिलाइले दुई दिनदेखि सडक बनाउने काम प्रभावित बनेको छ।”
सडक आयोजनाले मुस्ताङतर्फबाट इन्धन ढुवानीका लागि अन्तरजिल्ला समन्वय गरिरहेको छ। यस्तै, टावर हटाउन राहुघाट जलविद्युत् आयोजनामार्फत माथिल्लो निकायमा पहल भइरहेको आयोजनाका प्रमुख शर्माले बताउनुभयो। उच्चस्तरीय टोलीले पहिरो प्रभावित सडकको निरीक्षण गरी मर्मत कार्यमा सहजीकरणसमेत गरेको उहाँको भनाइ छ।
रघुगङ्गा गाउँपालिकाले पिप्ले–भगवती–बेग हुँदै बेगखोला जोड्ने वैकल्पिक सडक खुलाएर साना सवारी सञ्चालन तथा इन्धन ढुवानीका लागि काम गरिरहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो।
सडक विभागका महानिर्देशक डा. विजय जैसीसहितको प्राविधिक टोलीले शुक्रबार पहिरोबाट प्रभावित सडकको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा मर्मतका लागि आवश्यक स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाइएको छ।
राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजबहादुर विष्टले टावर हटाउने विषयमा आयोजनाको तहबाट निर्णय गर्न नसकिने भएकाले माथिल्लो निकायको स्वीकृति लिनुपर्ने अवस्था रहेको बताउनुभयो। यस विषयमा आवश्यक जानकारी नलिई सुरक्षाकर्मी परिचालन नगर्न उहाँले सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।
तिल्केनीचौरमा राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृहबाट पानी निकासका लागि बनाइएको ‘टेलरेस डक’, सडक, निर्माण कम्पनीका उपकरण तथा क्याम्पमा बाढीले कटान गरी क्षति पुर्याएको छ। राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ र रातोपानीमा सडक कटान भएको छ भने पोखरेबगरस्थित सडक पुलको पहुँचमार्गसमेत बाढीले बगाएको छ।
रसुवा र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि एक मात्र विकल्प बनेको कोरला नाकासँगको यातायात सम्पर्कसमेत सडक अवरुद्ध भएपछि टुटेको छ। मुख्य पर्यटकीय याममा सडक अवरुद्ध हुँदा पर्यटकीय गतिविधिसमेत प्रभावित भएकाले बेनी–जोमसोम सडक खुलाउन सरकारले उच्च प्राथमिकता दिएको छ।
प्रकाशित समय : १७:०९ बजे


















