गृहपृष्ठ अफगानिस्तानमा हवाई आक्रमण, १० सर्वसाधारणको मृत्यु
अफगानिस्तानमा हवाई आक्रमण, १० सर्वसाधारणको मृत्यु
संयुक्त राष्ट्रसङ्घले बिहीबार अफगानिस्तानमा भएका हवाई आक्रमणबाट कम्तीमा १० नागरिकको मृत्यु भएको बताएको छ । मृत्यु भएकामध्ये अधिकांश बच्चा थिए । पाकिस्तानले उक्त आक्रमणमा उग्रवादीहरूलाई लक्ष्य बनाएको दाबी गरेको छ ।
अफगानिस्तान र पाकिस्तानबीच यस वर्षको सुरुमा युद्ध भएको थियो तर पछिल्ला केही महिनामा तनाव कम भएको देखिएको थियो ।
सुरक्षा मुद्दाहरूमा स्थायी समाधान नभएपछि मार्चको युद्धविरामपछि छिटपुट आक्रमणहरू भइरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घको अफगानिस्तान मिशन (यूएनएएमए) का अनुसार नवीनतम आक्रमणहरू हेलमन्द प्रान्त र पाकिस्तानसँग जोडिएको कुन्नर प्रान्तमा भएका थिए ।
“आक्रमणमा कम्तीमा १० नागरिकको मृत्यु भएको छ, जसमध्ये अधिकांश बच्चा हुन् र नौ जना घाइते भएका छन्,” यूएनएएमएले वक्तव्यमा भनेको छ ।
इस्लामाबादले अफगानिस्तानमा ‘योजनाबद्ध र सन्तुलित’ आक्रमण गरेको पुष्टि गरेको छ तर स्थानहरूको विस्तृत विवरण दिएको छैन । उसले आक्रमण उग्रवादीहरूलाई लक्षित भएको दाबी गर्यो ।
हेलमन्दका दुई बासिन्दाले एएफपीलाई तीनवटा हवाई आक्रमण आफ्नो गाउँमा परेको बताए ।
पाकिस्तानको सूचना मन्त्रालयले भन्यो, “अफगानिस्तानका दुई स्थानमा ‘विश्वसनीय खुफिया जानकारीका आधारमा आतङ्कवादी शिविर र लुकेका ठाउँहरूलाई चयन गरी’ आक्रमण गरिएको हो।
छिमेकी कान्दाहार प्रान्तसँगै दक्षिणी अफगानिस्तानको हेलमन्द तालिबान आन्दोलनका लागि चर्चित छ । गत हप्ता कान्दाहारमा पनि हवाई आक्रमण भएको थियो ।
हेलमन्दको सफर गाउँबाट फोनमा कुरा गर्दै ५० वर्षीय बासिन्दा अब्दुल वाहिदले आक्रमणबाट चार जनाको मृत्यु र सात जना घाइते भएको बताए ।
अर्का गाउँले कुद्रत उल्लाहले आफू घरमा हुँदा छिमेकीको घरमा आक्रमण भएको बताए ।
“पूरै क्षेत्र ध्वस्त भएको छ”, ३२ वर्षीय उनले भन्े, “अहिले बासिन्दाहरूलाई आक्रमण स्थलबाट टाढा राखिएको बताए ।”
उनले एएफपीलाई फोनमार्फत् भने “त्यहाँ मारिएकामध्ये सर्वसाधारण नागरिक र त्यसमा पनि अधिकांश महिला र बच्चा थिए । सैन्य अधिकारी वा अरू कोही थिएन।”
हेलमन्दको प्रान्तीय राजधानी लस्करगाहको इटालियाली एनजीओ इमर्जेन्सीद्वारा सञ्चालित अस्पतालमा दुई बच्चा भर्ना भएको संस्थाको एएफपीलाई बतायो ।
पाकिस्तानको सूचना मन्त्रालयले सुरुमा २२ ‘उग्रवादी’ को मृत्यु र हतियार तथा गोलाबारूद नष्ट भएको जनाएको थियो ।
इस्लामाबादले अफगानिस्तानमा उग्रवादीहरूलाई आश्रय दिएको आरोप लगाउँछ र ती उग्रवादीहरूले पाकिस्तानमा बारम्बार बम र गोली आक्रमण गर्छन् भन्ने उसको बुझाइ रहेको छ । त्यहाँ हुने द्वँद्वमा नागरिक र सुरक्षाकर्मी दुवैको मृत्यु हुने गर्छ ।
तालिबान सरकारले यसलाई अस्वीकार गर्छ र पाकिस्तानले अफगानिस्तानको सार्वभौमिकता उल्लङ्घन गरी नागरिक मार्ने गरेको आरोप लगाउने गरेको छ।
पहाडी कुन्नर प्रान्तमा एएफपीका पत्रकारले दुर्गम चुगम उपत्यकामा ढुङ्गाका घरका अवशेष देखिएको बताए ।
किसान मोहम्मद हाशिमले बिहानैको आक्रमणपछि आफुहरू बासिन्दाहरूलाई बचाउन दौडेको बताए ।
अक्टोबरदेखि दुई देशबीचको हिंसामा ५०० भन्दा बढी नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको अफगानिस्तान नियोगले जानकारी गराएको छ ।
प्रकाशित समय : २०:२६ बजे


















