गृहपृष्ठ प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ सार्वजनिक
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ सार्वजनिक
काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ सार्वजनिक गरेको छ ।
प्रवासी नेपालीका घर तथा जग्गा खरिदसम्बन्धी वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको छ । योजनामार्फत सहज, प्रतिस्पर्धी र सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने बैंकको भनाइ छ ।
योजनाअन्तर्गत घर कर्जाका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ । कर्जाको अवधि अधिकतम २५ वर्षसम्म कायम गरिएको छ । कर्जाको सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधारदर (Average Base Rate) मा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ ।
यो सुविधा देशभरका प्रभु बैंकका ३०० शाखामार्फत उपलब्ध हुने छ । योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतका साथै जग्गा खरिदका लागि कर्जा सुविधा लिन सकिनेछ ।
योजनामा सन्तानको शैक्षिक आवश्यकतालाई समेत समेटिएको छ । बढीमा दुई जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न औसत आधारदरमा थप १ प्रतिशत प्रतिवर्ष ब्याजदरमा शैक्षिक कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । यस्तो कर्जाको प्रशासनिक शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
त्यस्तै, योजनाअन्तर्गत पहिलो वर्ष निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ सुविधा उपलब्ध गराइनेछ ।
नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्वपूर्ण योगदान रहँदै आएको उल्लेख गर्दै बैंकले विदेशमा रहेका नेपालीबाट प्राप्त रकमलाई औपचारिक बैंकिङ प्रणालीमार्फत परिचालन गर्ने उद्देश्यले पनि योजना ल्याइएको छ ।
बैंकका अनुसार विप्रेषणमार्फत प्राप्त रकमलाई बैंकिङ प्रणालीमा परिचालन गर्दा निक्षेप विस्तारसँगै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न सहयोग पुग्नेछ । साथै, प्रवासी नेपालीका दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्दै बैंकसँगको दीर्घकालीन सम्बन्ध विस्तार गर्न योजनाले सहयोग गर्ने अपेक्षा बैंकले गरेको छ ।
प्रभु बैंकले ग्राहकको बदलिँदो वित्तीय आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै सहज, भरपर्दो तथा ग्राहककेन्द्रित बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित समय : १७:५० बजे


















