गृहपृष्ठ छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठूला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।

पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्, सडकमा ठूलाठूला ढुङ्गा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ । जिल्ला सदरमुकाम सिमकोटमा आज सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताए । आफू श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएको तर, छारेभिरमा पहिरो खसेपछि आफूहरू बीच बाटोमै रोकिनुपरेको बताए।

“उनिहरु पहिरोका कारण सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने आशामा पर्खिरहेको छन् । स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्”, बुढाले भने ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक खुलाउन पहल भइरहेको बताए । उनका अनुसार सडकमा ठूला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन । सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको बताए ।

करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुङ्गा थुप्रिएकाले फुटाउनुपर्ने अवस्था छ । दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी गुरागाईँले बताए । उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भावतः पर्सि दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य छ ।

वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ । करिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ ।

प्रकाशित समय : ०४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु