गृहपृष्ठ बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजाविरुद्धको खोप ‘ओरल कोलेरा भ्याक्सिन(ओसिभी)’ अभियान तीव्र बनाइएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको ‘बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी’ सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ५९ हजार ७३२ जनाले खोप पाएका उल्लेख गरेको छ ।
प्रतिवेदनअनुसार रसुवामा १५ हजार ८१२ र नुवाकोटमा ४३ हजार ९२० जनाले मुखबाट दिइने हैजाविरुद्धको खोप पाएका हुन् । रसुवाका गोसाइँकुण्ड, उत्तरगया, आमाछोदिङ्मो र कालिका गाउँपालिकामा तथा नुवाकोटको बिदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।
यसैबीच बाढी प्रभावित क्षेत्रमा टिटानस-डिफ्थेरिया (टिडी) खोप पनि स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा घाइते व्यक्तिलाई पनि खोप प्रदान भइरहेको छ । रसुवाका चार स्थानीय तहमा ८२१ जनाले टिडी खोप पाएका छन् भने नुवाकोटको बिदुर नगरपालिकामा ११३ जनाले टिटी खोप लगाएका प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनकाअनुसार बाढीपछि शङ्कास्पद दादुराका आठ वटा रिपोर्ट रहेकामा सात नमुनाको परीक्षण नेगेटिभ आएको छ भने एउटा नमुनाको नतिजा आउन बाँकी छ । तीमध्ये रसुवाका छ र नुवाकोटका दुई वटा नमुना छन् ।
परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाको प्रमुख डा अभियान गौतमकाले बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा, रोग निगरानी तथा हैजा नियन्त्रण अभियानलाई सँगसँगै अघि बढाइएको बताए । उनका अनुसार रसुवा र नुवाकोटमा दादुरा रोग विरूद्धको ‘एमआर’ खोप अभियानको तयारी सुरु भएको छ भने धादिङ, गोरखा र तनहुँका बाँकी प्रभावित वडामा ‘ओसिभी’ खोप अभियानका लागि पनि तयारी भइरहेको छ ।
प्रकाशित समय : १६:३६ बजे


















