गृहपृष्ठ चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा दुईपांग्रे सवारीसाधन प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार एक कार्यक्रम आयोजना गरी २८ वटा मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सवारीसाधन धनीलाई हस्तान्तरण गरेका हुन्।
ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन तथा विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्ने क्रममा ती सवारीसाधन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट फेला पारिएको प्रहरीले जनाएको छ। केही सवारीसाधनमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला परेका थिए।
प्रहरीका अनुसार नयाँ बसपार्क, टोखा, गंगाहिटी, बालाजु, बाफल, कपन, गोकर्ण, साँखु, मुलपानी, टिकाथली, लोलाङ, बोहोराटार, नेपालटार र नयाँबस्ती लगायतका स्थानबाट चोरी भएका सवारीसाधन फेला पारिएको हो।
मंगलबार हस्तान्तरण गरिएका ५० वटासहित साउन महिनामा मात्रै १४६ वटा चोरी भएका सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, चोरी भएका १२ वटा दुईपांग्रे सवारीसाधनसहित चोरीमा संलग्न २१ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको प्रहरीले जनाएको छ।
आफ्नो सवारीसाधन चोरी हुनबाट जोगाउन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन प्रयोग गर्न र सम्भव भए जीपीएस जडान गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। मानिसहरूको आवतजावत कम हुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न पनि प्रहरीले आग्रह गरेको छ।
प्रकाशित समय : १९:२३ बजे


















