गृहपृष्ठ प्रभु बैंकद्वारा देशव्यापी रक्तदान, ३२१ पिन्ट रगत संकलन
प्रभु बैंकद्वारा देशव्यापी रक्तदान, ३२१ पिन्ट रगत संकलन
काठमाडौं । प्राकृतिक प्रकोप तथा बाढीबाट प्रभावित भई घाइते भएकाहरूलाई सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २०८३ भदौ ३० गते नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा एकैपटक देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय बबरमहलसहित ८ वटा शाखा कार्यालय सहभागी भएका थिए।
बागमती प्रदेशमा केन्द्रीय कार्यालय बबरमहल र नारायणगढ शाखा, चितवन, कोशी प्रदेशमा विराटनगर शाखा, मधेस प्रदेशमा सिमरा शाखा, गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा, पोखरा, लुम्बिनी प्रदेशमा बुटवल शाखा, कर्णाली प्रदेशमा सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशमा धनगढी शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।
उक्त कार्यक्रममा सातै प्रदेशका सहभागीबाट ३२१ पिन्ट रगत संकलन भएको छ।
यसअघि पनि बाढीका कारण प्रभावित तथा घरबारविहीन परिवारलाई राहत सहयोग पुर्याउने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो। त्यस्तै, प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ समेत सोही कोषमा सहयोग गरिएको बैंकले जनाएको छ।
त्यसैगरी, बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोगस्वरूप १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो।
प्राकृतिक विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनर्स्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता प्रभु बैंकले जनाएको छ।
प्रकाशित समय : १९:१७ बजे


















