गृहपृष्ठ उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित

उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित

उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ का किसान करनवीर लिम्बूले पाँच वर्षअघि व्यावसायिक एभोकाडो खेती सुरु गरे । ‘योङहाङ कृषि तथा पशुपालन फार्म’ दर्ता गरी एभोकाडो खेती सुरु गरेका लिम्बूले अन्नबाली उत्पादन हुने २० रोपनी क्षेत्रफलमा २०० वटा एभोकाडो रोपे ।

सुरुमा बिरुवा किन्न, खाडल निर्माण, मल तथा सिँचाइ व्यवस्थापनमा राम्रै खर्च गरे । एभोकाडोको बिरुवा पनि राम्ररी नै हुर्कियो । गत वर्षदेखि फुल्न थालेका एभोकाडोका बोटमा यस वर्ष फल पनि राम्रोसँग लाग्न थालेको थियो तर फल लागिरहेका एभोकाडोका बोटहरु एकाएक सुक्न र मर्न थालेपछि लिम्बू चिन्तित बनेका छन । मुख्य उत्पादन दिने ‘सिजन’मा नै बोटहरु मर्न थालेपछि उनि चिन्तित बनेका हुन । एभोकाडोको बोटमा फल लाग्न थालेसँगै पात पहेँलिने, हाँगा सुक्ने र पूरै बोट मर्ने समस्या देखिएको लिम्बूले बताए ।

राम्रो आम्दानीको अपेक्षा गरेका उनको एभोकाडो बगानमा एकाएक रोग देखापरेको हो । उनले बारीमा लगाएको अधिकांश बोट मर्न थालेका छन् । सुरुका वर्षहरुमा बोट राम्रोसँग हुर्किए पनि उत्पादन दिने बेलामा बोट मर्न थालेपछि आफू चिन्तित भएको उनले बताए । उनले २०७८ सालमा धनकुटाको पाख्रबासबाट प्रतिगोटा २०० का दरले एभोकाडोको बिरुवा खरिद गरेर रोपेका थिए ।

“विसं २०७८ धनकुटाको पाख्रिबासबाट प्रतिगोटा २०० का दरले २०० वटा एभोकाडोको बिरुवा ल्याएर खेतीयोग्य बारीमा रोपेको थिएँ,” उनले भने, “यो वर्षदेखि मज्जाले फल समेत लाग्न थालेको थियो तर एकाएक बोटहरु मर्न थालेपछि चिन्तित बनाएको छ ।”

लटरम्म फल लागेको एभोकाडोका दाना खस्नाका साथै बोटहरु नै मर्ने समस्या देखिएको उनको भनाइ छ । अन्नबाली उत्पादन हुने जमिनमा व्यावसायिक रुपमा एभोकाडो खेती सुरु गरेको लिम्बूलाई बोट मर्दा लाखौँको क्षति हुने चिन्ता छ ।

यसको खेती समुद्री सतहबाट दुई हजार ५०० मिटर उचाइसम्म खेती गर्न सकिन्छ । बिरुवा रोपेको चार/पाँच वर्षदेखि उत्पादन दिने भएकाले समथर भूभागसँगै पाखोबारी तथा कान्लामा एभोकाडो रोपेर किसान नियमित आम्दानीको स्रोत बनाउन थालेका छन् ।

प्रकाशित समय : १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु