काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रसुवाको जनजीवनको आधार नै बाढीले ध्वस्त पार्‍यो : कुलमान घिसिङ

702
shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी बाढीले रसुवाको सामाजिक, आर्थिक तथा मानवीय संरचनामा ठूलो क्षति पुर्‍याउँदै जिल्लाको विकासलाई २० देखि ३० वर्ष पछाडि धकेलेको बताएका छन्।

शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को कार्यक्रममा बोल्दै घिसिङले बाढीले रसुवाका नागरिकको जीविकोपार्जनको मुख्य आधार नै समाप्त पारेको बताए। उनका अनुसार पछिल्लो समय पर्यटन र व्यापारको केन्द्रका रूपमा विकसित हुँदै गएको रसुवामा बाढीले ठूलो धक्का पुर्‍याएको छ।

‘मैले यति ठूलो विपद् देखेको थिइनँ। सामाजिक पाटोबाट हेर्दा यसले रसुवालाई २०–३० वर्ष पछाडि धकेलेको छ,’ उनले भने, ‘एउटा पुस्ता नै यसले सखाप बनाएको छ।’

घिसिङका अनुसार रसुवामा पर्यटन तथा व्यापारको गतिविधि बढ्दै गएपछि रोजगारीका लागि देशका विभिन्न जिल्लाबाट मानिसहरू त्यहाँ पुग्न थालेका थिए। तर, बाढीले त्यसैलाई आधार बनाएर जीवन चलाइरहेका नागरिकको आर्थिक तथा सामाजिक आधार नै भत्काइदिएको उनले बताए।

‘त्यहाँ यति ठूलो पर्यटन र व्यापारको हब हुन थालेको थियो कि धेरै जिल्लाका मानिसहरू काम गर्न जान थाले। यस्तो अवस्थामा यो विपद्ले रसुवाका आम जनता जुन आधारमा बाँचिरहेका थिए, त्यो आधार सम्पूर्ण समाप्त गरेको छ,’ उनले भने।

उनले अहिलेको अवस्थाले रसुवाको भविष्य नै संकटमा परेको बताए। मानवीय तथा सामाजिक दृष्टिकोणबाट हेर्दा विपद् अत्यन्त ठूलो रहेको उनको भनाइ छ।

‘जुन अवस्थामा चिलिमे आउनुअगाडि रसुवा थियो, त्यही अवस्थामा पुर्‍याएको मलाई महसुस भएको छ,’ घिसिङले भने।

बाढीले जिल्लाका प्राविधिक जनशक्तिसमेत प्रभावित भएको उनले बताए। चिलिमे जलविद्युत् आयोजना निर्माणका क्रममा छात्रवृत्ति दिएर पढाइएका स्थानीय प्राविधिक जनशक्ति पनि अहिलेको विपद्बाट प्रभावित भएको उनको भनाइ छ।

‘रसुवाको टेक्निकल मानिसहरू करिब समाप्त नै भएको छ। चिलिमे बनाउँदै हामीले छात्रवृत्ति दिएर पढाएका मानिसहरू पनि थिए,’ उनले भने, ‘रसुवाको अत्यन्तै दर्दनाक अवस्था देखेर मलाई साह्रै दुःख लागेको छ।’

घिसिङले रसुवाको जलविद्युत् करिडोरमा धेरै आयोजना रहेकाले बाढी तथा पहिरोको जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने बताए। उक्त करिडोरले यसअघि पनि पटक–पटक विपद् व्यहोरेको उल्लेख गर्दै उनले आगामी दिनमा जोखिम न्यूनीकरण तथा पूर्वाधार सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

‘त्यो करिडोरमा धेरै हाइड्रोपावर प्रोजेक्टहरू छन्। त्यो करिडोरले करिब पाँच पटक विपद् व्यहोर्न परेको रहेछ,’ उनले भने।