गृहपृष्ठ भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
काठमाडौं । रसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी आंकलनले देखाएको छ ।
बाढीपछिको द्रुत क्षति तथा आवश्यकता आंकलन (आरडीएनए) प्रतिवेदनअनुसार विपद्बाट भएको कुल प्रभावमध्ये २७४ अर्ब ४८ करोड प्रत्यक्ष भौतिक क्षति र १३३ अर्ब ८१ करोड आर्थिक नोक्सान भएको छ ।
बाढीबाट भएको क्षतिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनर्लाभका लागि ७२३ अर्ब ३२ करोड आवश्यक पर्ने आंकलन गरिएको छ । यो कुल क्षति र नोक्सानको तुलनामा झन्डै पौने दुई गुणा बढी हो ।
आरडीएनए प्रतिवेदनअनुसार बाढीबाट पाँच जिल्लाका १५ स्थानीय तह प्रभावित भएका छन् । विपद्बाट ७ हजार ५७० भवनमा क्षति पुगेको छ भने ८ हजार ३१७ घरपरिवारका ३२ हजार ९६३ जना प्रत्यक्ष प्रभावित भएका छन् ।
बाढीबाट भएको कुल विपद् प्रभावमा पूर्वाधार क्षेत्रको हिस्सा ४६.५५ प्रतिशत रहेको छ । तर पुनर्लाभ तथा पुनर्निर्माणका लागि आवश्यक कुल रकममा पूर्वाधार क्षेत्रको हिस्सा ६५.४७ प्रतिशत पुगेको छ ।
पूर्वाधार क्षेत्रमा सडक, पुल, खानेपानी, ऊर्जा, आवासलगायत संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले यसको आवश्यकता हिस्सा बढी देखिएको हो ।
साथै, विपद्पछि संरचनालाई पहिलेभन्दा बलियो र जोखिमप्रतिरोधी बनाउने गरी पुनर्निर्माण गर्नुपर्ने भएकाले क्षतिको तुलनामा पुनर्लाभ लागत उल्लेख्य रूपमा बढेको प्रतिवेदनले देखाएको छ ।
उत्पादनशील क्षेत्रले भने कुल विपद् प्रभावको ३६.८३ प्रतिशत हिस्सा बेहोरेको छ । तर पुनर्लाभ आवश्यकतामा यसको हिस्सा ७.०२ प्रतिशत मात्र छ । उत्पादनशील क्षेत्रमा भएको ठूलो हिस्सा आम्दानी तथा उत्पादन गुमेको आर्थिक नोक्सान भएकाले त्यसलाई भौतिक पुनर्निर्माणभन्दा आर्थिक पुनरुत्थानमार्फत सम्बोधन गर्नुपर्ने कारणले यस्तो अन्तर देखिएको हो ।
प्रभावित स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ । विदुरमा ३ हजार ४३१ भवन प्रभावित भएका छन्, जुन कुल प्रभावित भवनको करिब ४१ प्रतिशत हो ।
त्यसपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा १ हजार १५६, धादिङको बेनीघाट रोराङ गाउँपालिकामा १ हजार १४६ र नुवाकोटको किस्पाङ गाउँपालिकामा ७२१ भवन प्रभावित भएका छन् ।
प्रतिवेदनले बाढीबाट भएको क्षति तथा नोक्सानको पुनर्लाभसँगै भविष्यमा यस्ता विपद्बाट हुने जोखिम न्यूनीकरणलाई प्राथमिकता दिनुपर्ने देखाएको छ । विशेषगरी पूर्वाधार पुनर्निर्माणलाई जोखिमप्रतिरोधी र दिगो बनाउनेतर्फ ठूलो लगानी आवश्यक पर्ने आंकलन गरिएको छ ।
आरडीएनए प्रतिवेदनअनुसार रसुवा–भोटेकोशी बाढीबाट भएको कुल विपद् प्रभाव ४०८ अर्ब २९ करोड र कुल पुनर्लाभ आवश्यकता ७२३ अर्ब ३२ करोड रहेको छ ।
प्रकाशित समय : १७:५५ बजे


















