गृहपृष्ठ एफएटीएफको ग्रे लिस्टबाट निस्कन अमेरिकी अर्थमन्त्रीसँग भेटको प्रयास भइरहेको छः वाग्ले
एफएटीएफको ग्रे लिस्टबाट निस्कन अमेरिकी अर्थमन्त्रीसँग भेटको प्रयास भइरहेको छः वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नका लागि अन्तर्राष्ट्रिय स्तरमै नेपालको पक्ष बलियो ढङ्गले प्रस्तुत गर्न टोली परिचालन गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार अहिले मलेसियामा नेपालका तर्फबाट विशेष टोलीले काम गरिरहेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ताको नेतृत्व तथा संलग्नतामा पाँच–छ जनाको टोलीलाई विशेष रूपमा परिचालन गरिएको उनले बताए ।
‘एफएटीएफबाट चाँडै नै ननिकाल्ने हो भने यो हलुका विषय होइन,’ अर्थमन्त्री वाग्लेले भने, ‘यसले हाम्रो अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानीको वातावरण र पुँजी प्रवाहसँग सोझै सम्बन्ध राख्छ।’
नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रयासमा सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए । यसै विषयमा अमेरिकी अर्थमन्त्रीसँग समेत आफूले भेट गर्ने प्रयास गरिरहेको वाग्लेले जानकारी दिए ।
उनले नेपालले आन्तरिक रूपमा सुधारका लागि ठूलो प्रयास गरे पनि अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा नेपालको स्थिति कमजोर रहन गए त्यसको प्रतिफल प्राप्त गर्न कठिन हुने बताए ।
‘अन्तर्राष्ट्रिय रूपमा नै हामी चाहिँ सुडान, हाइटीको हाराहारीमा हुने हो भने यहाँ हामीले गरेको प्रयासको कुनै प्रतिफल नआउने हुनाले हामी एकदमै गम्भीर भएर यसमा लागेका छौँ,’ उनले भने ।
अर्थमन्त्री वाग्लेले एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्कन सरकारले विगतदेखि टारिँदै आएका सुधारका कामलाई समेत अघि बढाएको बताए । लामो समयदेखि आवश्यक ठानिएका तर कार्यान्वयनमा ढिलाइ भएका सुधारलाई लोकप्रियताको डरले रोक्न नहुने उनको भनाइ छ ।
प्रकाशित समय : ११:५१ बजे


















