गृहपृष्ठ बुबाको मुख हेर्ने दिन र जीवनको शाश्वत सत्य राज कार्की
बुबाको मुख हेर्ने दिन र जीवनको शाश्वत सत्य राज कार्की
मानिसको जीवनमा केही सम्बन्ध यस्ता हुन्छन्, जसको गहिराइ शब्दले मापन गर्न सकिँदैन । ती सम्बन्धमध्ये बुबा र सन्तानको सम्बन्ध विशेष हुन्छ । यस सम्बन्धमा प्रेम हुन्छ, त्याग हुन्छ, अनुशासन हुन्छ, अपेक्षा हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा–निःस्वार्थ संरक्षण हुन्छ । नेपाली संस्कृतिले यस्ता सम्बन्धलाई केवल भावनाका रूपमा होइन, संस्कार र कर्तव्यका रूपमा पनि स्थापित गरेको छ । यही परम्पराको सुन्दर अभिव्यक्ति हो–कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिन । यो दिन बाबु र छोराको सम्बन्ध, सम्मान, जिम्मेवारी र पुस्तान्तरणको कथासँग गहिरिएर जोडिएको हुन्छ ।
बुबाको मुख हेर्ने दिन आउँदा धेरैका लागि यो खुसीको अवसर बन्छ । छोराछोरीले बुबालाई भेट्छन्, मिठो खुवाउँछन्, उपहार दिन्छन् र आशिष लिन्छन् तर यो पर्वको अर्थ यति सीमित छैन । यो वास्तवमा आफ्नो जीवनको पछाडि उभिएको एउटा महत्वपूर्ण व्यक्तित्वलाई सम्झने दिन हो । हामी जहाँ पुगेका छौँ, त्यहाँ पुग्नका लागि कसैले आफ्नो बाटो छोट्याएको थियो कि थिएन रु हामीले पाएका अवसरका लागि कसैले आफ्ना इच्छाहरू त्यागेको थियो कि थिएन रु यस्ता प्रश्नको उत्तर खोज्ने दिन पनि हो यो । आधुनिकताको दौडधूपमा कहिलेकाहीँ टाढिएका मनहरूलाई नजिक ल्याउने यो एउटा सुन्दर अवसर हो । नेपाली समाजमा यो पर्वले परिवारको मूल आधारस्तम्भलाई स्मरण गर्ने र सम्मान गर्ने अद्वितीय अवसर प्रदान गर्दछ ।
परिवारको मेरुदण्ड र मौन अभिभावक
बुबाको परिचय केवल घर चलाउने व्यक्तिका रूपमा गर्नु अन्याय हुन्छ । उहाँ परिवारको सपना बोकेर हिँड्ने व्यक्ति हुनुहुन्छ । परिवारमा आमाको माया धेरैजसो देखिने, प्रस्फुटित हुने र शब्दमा व्यक्त हुने गर्छ तर बुबाको माया अक्सर मौन हुन्छ । बुबा घरको त्यो खम्बा हुन्, जो घाम, पानी र आँधीबेहरी सबै आफैँ सहेर परिवारलाई छहारी दिन्छन् ।
एउटा बाबुले आफ्ना चाहनाहरू त्यागेर छोराको भविष्य उज्यालो बनाउन जीवनभर कडा परिश्रम गरेको हुन्छ । आफूले पुराना जुत्ता लगाएर छोरालाई नयाँ किनिदिने बुबाको त्यो त्याग प्रायः कसैले देख्दैन । उनका थकित हातहरूले सन्ततिको उज्ज्वल भविष्यको खाका कोरेका हुन्छन् । बुबाको कडा स्वभाव वा अनुशासनलाई धेरैले डरका रूपमा बुझ्छन् तर पछि ठूलो भएपछि मात्र महसुस हुन्छ कि त्यो डर नभई जीवनको सही बाटो देखाउने एउटा सुरक्षा कवच थियो । त्यो अनुशासनले हरेप छोरालाई समाजमा खडा हुन र जीवनका कठिन मोडहरू पार गर्न सक्षम बनाउँछ ।
बाबु र छोराबीचको सम्बन्धः मौनता र सम्मानको पर्खाल
आमासँग छोराको जति खुलेर कुरा हुन्छ, बाबु र छोरासँगको सम्बन्धमा एउटा अनौठो दूरी र मौनता देखिन्छ । छोरा ठूलो हुँदै जाँदा बुबासँग आँखा जुधाएर कुरा गर्न हिचकिचाउँछ । सानो छँदा काँधमा बोक्ने बुबा, जब छोरा युवा हुन्छ, तब दुवैबीच एउटा अदृश्य मर्यादाको रेखा कोरिन्छ । बाबु र छोराले कहिल्यै एक–अर्कालाई “म तिमीलाई धेरै माया गर्छु” भन्दैनन् तर एउटाको सफलतामा अर्काको अनुहारमा देखिने गर्व र आँखामा झल्किने चमकले त्यो प्रेम प्रस्ट पार्छ । यो प्रेम शब्दभन्दा धेरै माथि, विश्वास र कर्तव्यमा निहित हुन्छ ।
छोराले सफलता हासिल गर्दा बुबाले ठूलो उत्सव नगर्न सक्छन, तर एकान्तमा छोराको उपलब्धि सम्झेर मुस्कुराउन सक्नुहुन्छ । छोराले गल्ती गर्दा बुबाले प्रशंसा नगरी सम्झाउन सक्नुहुन्छ, तर उसको असफलताले सबैभन्दा बढी पीडा पनि उनलाई नै हुनसक्छ । यही मौन प्रेमले बाबु–छोराको सम्बन्धलाई विशिष्ट बनाउँछ । बुबाको हातमा देखिने कठोरता वास्तवमा जीवनसँगको लामो सङ्घर्षको प्रमाण हो । ती हातले परिवारको भविष्यका लागि काम गरेका हुन्छन् ।
निधारमा देखिने रेखाहरू उमेरका मात्र होइनन्, जिम्मेवारीका पनि चिह्न हुन् । त्यसैले बुबाको अनुहारमा देखिने परिवर्तनलाई केवल बुढ्यौली भनेर हेर्नु हुँदैन, त्यो हाम्रो जीवनका लागि उनले बिताएको समयको इतिहास हो । बुबाको सोच र छोराको आधुनिक सोचबीच कहिलेकाहीँ मतभेद हुन्नसक्छ । बुबा पुरानो शैलीको अनुशासन खोज्नुहुन्छ भने छोरा स्वतन्त्रता चाहन्छ । तर कुशे औँशीको दिन यो सबै पर्खाल भत्किन्छ र सम्बन्धको मिठास सतहमा आउँछ । प्रविधिको यो युगमा हुर्किएको नयाँ पुस्ता र परम्परागत मूल्यमान्यता बोकेका अभिभावकबीचको यो पर्वले पुलको रुपमा समाजलाई सन्तुलित बनाइराख्छ ।
बुबाको मुख हेर्ने दिनको विशेष उत्सव र भावना
भाद्र कृष्ण औँशीका दिन पर्ने यो पर्व जीवित बुबाप्रतिको सम्मान र मृत भइसकेकाहरुप्रति भावपूर्ण सम्झने दिन पनि हो । यस दिन छोराछोरीहरू आफ्ना बुबालाई मीठा परिकार खुवाएर, नयाँ कपडा उपहार दिएर र ढोगेर आशीर्वाद लिन्छन् । जसका बुबा जीवित छन, उनीहरूका लागि यो दिन आफ्ना भावना व्यक्त गर्ने सुनौलो अवसर हो । यो दिन हरेक घरमा एक किसिमको उत्सवको माहोल छाएको हुन्छ, जहाँ सन्तानले आफ्ना बुबाप्रतिको कृतज्ञता अर्पण गर्छन् । त्यसैले बुबाप्रतिको सम्मान क्यालेन्डरको एउटा दिनमा सीमित हुनुहुँदैन । उहाँको आवश्यकता बुझ्ने, दुःखमा साथ दिने र खुसीमा सहभागी हुने संस्कार दैनिक जीवनको हिस्सा बन्नुपर्छ ।
आजको संसारमा जीवनशैली तीव्र गतिमा परिवर्तन भइरहेको छ । रोजगारी, अध्ययन र अवसरका कारण सन्तानहरू देशविदेशमा फैलिएका छन् । व्यस्तताले गर्दा घर जान नपाएका सन्तानहरू पनि फोनमार्फत वा टाढाबाट भए पनि बुबाको मुहारमा खुसी ल्याउने प्रयास गर्छन् । प्रविधिले दूरी घटाएको छ, तर भावनात्मक दूरी कहिलेकाहीँ झन बढाएको छ । बुबाको मुख हेर्ने दिनले यही विस्मृतिलाई झकझक्याउँछ । यस दिन हामीलाई सम्झाइन्छ कि परिवारसँग जोडिन कुनै ठूलो अवसर आवश्यक पर्दैन । केही मिनेटको फोन, सँगै बसेर खाएको खाना वा “बुबा, तपाईंलाई कस्तो छ रु” भन्ने एउटा प्रश्न पनि सम्बन्धका लागि अमूल्य हुन सक्छ ।
बुबाको मुखमा देखिने सन्तुष्टिको मुस्कान नै सन्तानका लागि संसारको सबैभन्दा ठूलो प्राप्ति बन्न पुग्छ । जसका बुबा यो संसारमा हुनुहुन्न, उनीहरूका लागि यो दिन रित्तोजस्तो लाग्छ । गोकर्णेश्वर वा पवित्र तीर्थस्थलहरूमा पुगेर दिवङ्गत बुबाको नाममा तर्पण दिँदा आँखाभरि आँसु आउँछ । बुबा नभएपछिको एक्लोपन यो दिन झन बढी महसुस हुन्छ र पितृप्रतिको गहिरो श्रद्धाले मानिसलाई भावुक बनाउँछ ।
समयको परिवर्तन र जिम्मेवारीको बोध
बाल्यकालमा बुबालाई सबैभन्दा शक्तिशाली र संसारको ज्ञानी मान्ने छोरा, जब आफैँ युवा हुन्छ र जिम्मेवारीको भार बोक्छ, तब बुबाको वास्तविक सङ्घर्ष बुझ्न थाल्छ । यो कालखण्डमा छोराले आफ्नो बुबाको विगत र वर्तमानलाई नजिकबाट नियाल्ने मौका पाउँछ । एउटा छोराका लागि सबैभन्दा मर्माहत क्षण त्यो हो, जब उसले आफ्नो बुबाका चाउरी परेका गाला, सेताम्मे कपाल र कमजोर हुँदै गएको शरीर देख्छ । जसले आफूलाई औँला समातेर हिँडाएका थिए, उही बुबा आज हिँड्दा लड्नुहोला भनेर सहारा दिनुपर्ने अवस्था आउँछ । समयको यो चक्रले हरेक युवालाई वास्तविकताको कठोर धरातलमा उभ्याउँछ ।
बुबाको मुख हेर्ने दिन केवल मिठो खाने र आशीर्वाद लिने दिन मात्र होइन, यो बुबाप्रतिको आफ्नो कर्तव्य सम्झिने दिन पनि हो । बुढेसकालमा आमाबुबालाई समय दिनु, उनीहरूको स्वास्थ्यको ख्याल राख्नु र उनीहरूलाई एक्लो महसुस हुन नदिनु एउटा असल छोराको मुख्य धर्म हो । आधुनिक जीवनशैलीको व्यस्ततामा यो यथार्थलाई बिर्सनुहुँदैन । जिन्दगी धेरै छोटो छ । हामी भविष्यको दौडमा यति धेरै व्यस्त हुन्छौँ कि घरमा कुर्न बसेका बुबाको अनुहारमा बढेका चाउरीहरू र उनीहरूको सुक्खा हाँसो हेर्ने फुर्सद हामीलाई हुँदैन । यस दिनले हामीलाई रोकेर सोच्न बाध्य पार्छ । के हामीले आफ्ना बुबालाई उनीहरू जीवित हुँदा पर्याप्त माया र सम्मान दिएका छौँ रु यो प्रश्नले हरेक जिम्मेवार सन्तानको विवेकलाई घचघच्याइरहेको हुन्छ ।
चाडपर्व आउँछन् र जान्छन्, तर बाबु र छोराको सम्बन्ध समयको बगिरहने नदीजस्तै निरन्तर चलिरहन्छ । शब्दमा कम बोलिए पनि, हृदयको गहिराइबाट बुबाप्रतिको सम्मान सधैँ रहनुपर्छ । त्यसैले बुबाको बुढेसकाल सन्तानको परीक्षाको समय हो । पैसा पठाउनु मात्र पर्याप्त हुँदैन । उनसँग बसेर कुरा गर्नु, स्वास्थ्यको जानकारी लिनु, उनको एक्लोपन बुझ्नु र निर्णयमा उनको सम्मान कायम राख्नु पनि सन्तानको जिम्मेवारी हो । आजै आफ्नो व्यस्तताबाट केही समय निकालेर आफ्ना बुबाको नजिक बस्नुहोस्, उनको हात समात्नुहोस् र महसुस गराउनुहोस् कि उहाँ एक्लो हुनुहुन्न किनकि बाबुको आशीर्वादभन्दा ठूलो धन यो संसारमा अर्को कुनै छैन ।
बुबाको मुख हेर्नु भनेको केवल उनको अनुहार हेर्नु होइन, उनको अनुहारमा आफ्नो विगत, आफ्नो सङ्घर्ष, आफ्नो अस्तित्व र आफ्नो भविष्यको आधार देख्नु हो । बुबाको मुस्कानमा सन्तानको सफलता लुकेको हुन्छ र सन्तानको सम्मानमा बुबाको जीवनको सार रहेको हुन्छ । यही सम्बन्धको निरन्तरता नै हाम्रो संस्कृतिको शक्ति हो र यही नै जीवनले सिकाउने सबैभन्दा गहिरो, शाश्वत सत्य हो भन्ने तथ्यलाई आजको दिनले स्मरण गराउँछ । जीवनको यो सुन्दर यात्रामा बुबाको उपस्थिति नै सबैभन्दा ठूलो शक्ति हो, जसले हामीलाई जुनसुकै आँधीबेहरीसँग लड्ने हिम्मत प्रदान गरेको हुन्छ । रासस
प्रकाशित समय : ११:४१ बजे


















