गृहपृष्ठ आत्महत्या रोकथाम गर्ने उद्देश्यले ‘राष्ट्रिय संवाद सम्मेलन’ आयेजना
आत्महत्या रोकथाम गर्ने उद्देश्यले ‘राष्ट्रिय संवाद सम्मेलन’ आयेजना
काठमाडौँ । आत्महत्या रोकथामका लागि ‘राष्ट्रिय संवाद सम्मेलन(२०२६’ आयोजना गरिएको छ । नेशनल सोलुसन एण्ड रिसर्च सेन्टरले ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालसँगको सहकार्यमा आज ‘राष्ट्रिय संवाद सम्मेलन’ आयोजना गरिएको हो ।
आज विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आयोजना गरिएको उक्त सम्मेलनमा आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य तथा सञ्चारमाध्यमको भूमिकाबारे छलफल तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको छ । सम्मेलनमा समग्र मानसिक स्वास्थ्य हेरचाहसम्बन्धी मनोवैज्ञानिक र सामाजिक परामर्शसम्बन्धी छलफल भएको छ ।
छलफलमा वरिष्ठ मनोचिकित्सक डा निकेशराज भण्डारी, मनोचिकित्सक रामपुकार शाह, सहप्राध्यापक सुकृता राईले धारणा राख्नुभयो । ‘सञ्चारमाध्यम र मानसिक स्वास्थ्य’ विषयमा सञ्चारमाध्यमले आत्महत्या, आत्मदाह तथा हिंसाका घटनालाई कसरी संवेदनशील र जिम्मेवार ढङ्गले प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको छ । उक्त छलफलमा संयुक्त राष्ट्रसङ्घका पूर्वसञ्चारविज्ञ चुनबहादुर गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य रविराज बराल र मनोविद् अलिशा अधिकारी सहभागी भए ।
सम्मेलनमा क्षमता अभिवृद्धिका लागि ‘गेटकिपर’ र ‘मिडिया’ तालिमसमेत सञ्चालन गरिएको थियो । तालिममा मनोचिकित्सक रामपुकार साहले आत्महत्या रोकथामसम्बन्धी अभिमुखीकरण दिएको छन् भने मनोविद् अलिशा अधिकारीले सञ्चारमाध्यम, आचारसंहिता तथा सहानुभूतिपूर्ण समाचार सम्प्रेषणसम्बन्धी तालिम प्रदान गर्ेका थिए ।
सम्मेलनको उद्घाटन गर्दै ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले यस्ता सम्मेलनले आत्महत्या रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आत्महत्या रोकथामका लागि जनचेतना अभिवृद्धि, जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग पुर्याउने वातावरण निर्माण तथा आत्महत्यासम्बन्धी समाचार सम्प्रेषणलाई थप संवेदनशील र जिम्मेवार बनाउनुपर्ने उनको भनाइ छ ।
सम्मेलनमा मनोचिकित्सक, क्लिनिकल तथा काउन्सिलिङ साइकोलोजिस्ट, नर्स, मनोसामाजिक परामर्शदाता, सामाजिक कार्यकर्ताको सहभागीता रहेको नेसनल सोलुसन एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक पवन पौडेलले जानकारी दिए ।
प्रकाशित समय : २२:०१ बजे

















