गृहपृष्ठ रोजगारमुखी र उद्यमशील नागरिक बनाउने शिक्षा आवश्यक छ’
रोजगारमुखी र उद्यमशील नागरिक बनाउने शिक्षा आवश्यक छ’
सुदूरपश्चिम । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका गर्दा विद्यालय शिक्षालाई रोजगारमुखी, प्रयोगात्मक र उद्यमशील नागरिक उत्पादन गर्ने शिक्षण सिकाइ केन्द्रित बनाउनुपर्नेमा जोड दिइएको छ ।
पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले आज कैलालीको धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय कार्यशालामा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, नीतिनिर्माता र अन्य सरोकार भएकाहरूले शिक्षालाई श्रम, उत्पादन, रोजगारी तथा स्वरोजगारसँग जोड्नुपर्ने बताएका हुन् । पाठ्यक्रम, विषय छनोट, मूल्याङ्कन प्रणाली, शिक्षक तयारी तथा पाठ्यक्रममा सुधार गर्दै सूचना प्रविधि, श्रमबजारको मागअनुसार विषयवस्तु तथा सीप सिकाइउन्मुख ज्ञान, उद्यमशीलता, स्वरोजगार र मानवीय मूल्य बढाउने विषयलाई प्राथमिकता दिनुपर्ने सहभागीहरूको सुझाव थियो ।
यस्तै, नैतिक शिक्षा, कम्प्युटर सीप, प्रारम्भिक बालविकास तथा स्थानीय विषयलाई राष्ट्रिय पाठ्यक्रम संरचनामै समावेश गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा सुदूरपश्चिम शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले ‘के पढ्नेभन्दा के गर्नसक्ने’ विद्यार्थी तयार गर्ने भन्ने कोणबाट सोच्नुपर्ने आवश्यकता औँल्याउए । उनले शिक्षा जीवन जीउने कला र गरिखाने सीपको आधार हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अबको पाठ्यक्रम गरिखाने शिक्षा प्रवर्द्धन गर्ने हेतुले निर्माण गरिनुपर्नेमा जोड दिए।
“हाल कसले कति पढ्यो र कति अङ्क ल्यायो भनेर मात्रै सोच्ने गरिएको छ । त्यसले विद्यार्थीलाई उद्यमशील, सृजनशील, आत्मनिर्भर र मानवीय मूल्यमा प्रतिबद्ध निष्ठावान् नागरिक बनायो वा बनाएन भन्ने सोचिएन । त्यसैले विश्वविद्यालय शिक्षा पढेर पनि केही काम लागेन भन्ने भाष्य बनिरहेको छ”, महानिर्देशक विष्टले भने, “त्यसैले अबको पाठ्यक्रमले गरिखाने नागरिक बनाउनाका साथै सामाजिक र भावनात्मक पक्ष, नैतिक शिक्षा, परम्परागत उपयोगी मान्यताप्रति प्रतिबद्ध, सिकाइ, बुझाइ, व्यवहार र सीपमा सामञ्जस्यता कायम गर्न सक्नुपर्छ ।”
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य गङ्गादत्त जोशीले नैतिक शिक्षालाई अनिवार्य गर्ने, कक्षा ५ सम्म विद्यार्थीको रुचि बुझ्ने र त्यसपछि रुचिअनुसारको आवश्यकता सम्बोधन गर्ने शिक्षा प्रणाली विकासमा जोड दिनुपर्ने बताए । उनले सरोकार भएकाहरुबाट आएका सुझाव सम्बोधन गर्दै युग सुहाउँदो पाठ्क्रम बनाउन सम्बद्ध अधिकारीलाई आग्रह गरे ।
प्रकाशित समय : २१:३४ बजे

















