गृहपृष्ठ बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन

बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन

बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन गरेको छ ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न समिति गठन गरिएको हो । विपद्को अवस्थामा यी सेवामा हुन सक्ने अवरोध तथा स्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी आवश्यक सेवा उपलब्ध गराउन नियमित अनुगमन आवश्यक देखिएपछि समिति गठन गरिएको हो ।

मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक र कान्ति बाल अस्पतालका निर्देशक सदस्य छन् । समितिले आवश्यकताअनुसार अन्य विषय विज्ञलाई आमन्त्रण गर्न सक्नेछ ।

रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा स्वास्थ्य सेवासँगै मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको छ । गठित समितिले प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सेवाको अवस्था, आवश्यक स्वास्थ्य जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता र विपद्पछिका स्वास्थ्य जोखिमको नियमित अनुगमन तथा पहिचान गर्नेछ ।

पहिचान भएका समस्या तथा आवश्यकताका आधारमा सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गरी सेवा निरन्तरता र थप स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल गर्ने स्वास्थ्य मन्त्रालयको सचिवालयले जनाएको छ ।

प्रकाशित समय : २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु