गृहपृष्ठ विपद्को मैदानमा ‘एमआरआर’ सम्बद्ध युवाको भूमिका प्रशंसनीय
विपद्को मैदानमा ‘एमआरआर’ सम्बद्ध युवाको भूमिका प्रशंसनीय
काठमाडौं । युवा पिँढीलाई जोड्दै आएको एमआरआर (मेन्स रुम रिलोडेड) नामक सामाजिक सञ्जालको समूहले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावितको उद्धार, शव व्यवस्थापन तथा राहत वितरणमा उदाहरणीय काम गरेको भनी प्रशंसा गरिएको छ ।
स्पष्ट पहिचानसहित खटिएको युवा समूहले भदौ ११ गतेको बाढीले बगाएर ल्याएका शवको खोजी, पहिचान, व्यवस्थापनसहित प्रभावित परिवारजनलाई समेत सहजीकरण तथा सहयोग गरेकामा उच्च प्रशंसा गरिएको हो ।
‘एमआरआर’ लेखिएको ज्याकेट, टोपी र टिसर्ट लगाएका युवाहरू राहत सामग्री बोकेर प्रभावित गाउँबस्तीमा पुग्ने तथा अत्यावश्यक स्वास्थ्य सामग्री अस्पतालसम्म पुर्याउने काममा अहोरात्र खटिएर सबैको मन जित्न सफल भएका हुन् । जिल्लास्थित सुरक्षाकर्मीका अनुसार सो समूह राहत, उद्धारमा खटिएका सुरक्षाकर्मीसँग पनि समन्वय गर्दै बाढी प्रभावितका पक्षमा खटिएको थियो ।
स्वास्थ्यकर्मी, इन्जिनियर, सूचनाप्रविधि क्षेत्रका स्वयंसेवी सम्मिलित १०० भन्दा बढी युवा राहत तथा उद्धार कार्यमा खटिएका ‘एमआरआर’ चितवनका संयोजक फणिन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार आफ्नो नियमित पेसा तथा व्यवसायबाट अतिरिक्त समय निकालेर सङ्कटका बेला एउटै उद्देश्यका साथ ‘फिल्ड’मा खटिने युवाहरूको साझा परिचयसहितको अभियान नै ‘एमआरआर’ हो ।
सन् २०११ मा फेसबुकमार्फत सुरु भएको ‘एमआरआर’मा देशभरका हजारौँ युवा जोडिएका छन् । विभिन्न पेसा र क्षेत्रमा आबद्ध युवाहरू सामाजिक सञ्जालमार्फत जोडिएर आवश्यक परेको समयमा स्वयंसेवीका रूपमा परिचालित हुँदै आएका छन् । भूकम्प, बाढी, पहिरो, आगलागीलगायत प्राकृतिक तथा मानवीय विपद्का समयमा उनीहरू राहत तथा उद्धारका काममा सक्रिय हुने गरेका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
उनका अनुसार जिल्लामा आवश्यकताअनुसार स्वयंसेवकलाई विभिन्न टोलीमा परिचालन गरिएको थियो । उनले भने , “हामीसँग स्वास्थ्यकर्मी, इन्जिनियर, सूचना प्रविधि, व्यवस्थापनलगायत विभिन्न क्षेत्रका दक्ष युवा स्वयंसेवक आबद्ध छन् । त्यसैले जहाँ जुन प्रकारको सहयोग आवश्यक पर्छ, त्यहीअनुसार टोली परिचालित हुँदै आएको छ ।” सो समूहले विपद्को अवस्था र आवश्यकताअनुसार उनीहरूलाई फरक–फरक जिम्मेवारी दिएर परिचालन गर्दै आएको छ ।
एमआरआरका स्वयंसेवकले राहत तथा उद्धारका काममा स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य संस्था, स्थानीय तह तथा अन्य स्वयंसेवी समूहसँग समन्वय गर्दै आएका थिए । न्यौपानेले भन्नुभयो, “हामी जहाँ पुग्छौँ, त्यहाँको स्थानीय प्रशासन र सुरक्षाकर्मीसँग समन्वय गरेर मात्रै काम गर्छौँ । यसले राहत वितरणदेखि स्वास्थ्य सामग्री पुर्याउने कामसम्म प्रभावकारी हुन्छ ।”
बाढीपछि चितवनबाट स्वयंसेवकको टोली धादिङ र नुवाकोटसम्म पुगेर प्रभावित क्षेत्रमा तीन दिनसम्म काम गरेको थियो । टोलीले प्रभावित परिवारका लागि राहत सामग्री, औषधि तथा आकस्मिक स्वास्थ्य सामग्री पुर्याएको थियो । स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमार्फत आवश्यक सामग्री हस्तान्तरण गर्नुका साथै प्रभावित समुदायको अवस्था बुझ्ने कामसमेत गरिएको अध्यक्ष न्यौपानेले बताए ।
‘एमआरआर’ सदस्य चिरञ्जीवी पन्त भोटेकोशी बाढीपछिको विपत्मा सुरुदेखि नै खटिएको बताउँदै शव व्यवस्थापनदेखि शव पहिचान केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री जुटाउने, कागजपत्र, प्रिन्टरलगायत सामग्री व्यवस्थापन गर्ने तथा शव पहिचानका लागि आएका आफन्तको व्यवस्थापनमा समेत आफूहरू खटिएको बताउँछन् ।
त्यसैगरी अर्का सदस्य अर्जुन अधिकारीका अनुसार भोटेकोशी बाढीपछि चितवनबाट ‘एमआरआर’को टोली सक्रिय रूपमा अग्रपङ्क्तिमा खटिएको उनको भनाइ छ । युवा स्वयंसेवकका लागि विपद्मा गरिने सहयोग राहत सामग्री वितरणमा मात्र सीमित छैन । प्रभावित नागरिकको अवस्था बुझ्ने, उनीहरूका कुरा सुन्ने तथा दुःखमा साथ दिने कामलाई पनि उनीहरूले उत्तिकै महत्व दिने गरेका छन् ।
भोटेकोशी बाढीपछि नवलपुरको मध्यबिन्दु प्रादेशिक अस्पतालमा शव व्यवस्थापनका लागि आवश्यक सामग्रीको अभाव भएपछि चितवनबाट नवलपुरका स्वयंसेवकसँग समन्वय गरी मास्क, पिपिई, पञ्जा, फिनेल तथा अन्य आवश्यक सामग्री सहयोग गरिएको थियो । अस्पतालमा शव व्यवस्थापनका लागि आवश्यक सामग्री जुटाउने काममा एमआरआरसँग आबद्ध स्वयंसेवकले सहजीकरण गरेको संयोजक न्यौपानेले बताए ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लाका सुरक्षा निकायसँग समन्वय गरेर ‘एमआरआर’ले उदाहरणीय काम गरेको बताए । जिल्लामा शवको खोजी र व्यवस्थापन निकै जटिल भएको समयमा ‘एमआरआर’ले समन्वय गरेर काम सघाएको उनको भनाइ छ । जसले गर्दा जिल्लामा शव व्यवस्थापनमा सहज भएको अर्याल बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले भोटेकोशी बाढीको सुरुआती समयदेखि शव व्यवस्थापनको अन्तिम चरणसम्म ‘एमआरआर’ले उल्लेखनीय भूमिका निर्वाह गरेको बताए । ‘एमआरआर’मा आबद्ध युवा समूहको बाढीपछिको विपद् व्यवस्थापनका क्रममा भएको सक्रियता, व्यवस्थापन, समन्वय, सहयोग र सहकार्य प्रशंसशीय एवं उदाहरणीय रहेको उनको भनाइ थियो ।
प्रकाशित समय : १४:०९ बजे


















