गृहपृष्ठ माटोसँग जोडिएको सफलता : नर्सरी व्यवसायबाट आत्मनिर्भर बनेका कृष्णप्रसाद दाहाल

माटोसँग जोडिएको सफलता : नर्सरी व्यवसायबाट आत्मनिर्भर बनेका कृष्णप्रसाद दाहाल

माटोसँग जोडिएको सफलता : नर्सरी व्यवसायबाट आत्मनिर्भर बनेका कृष्णप्रसाद दाहाल

काठमाडौं । ललितपुरको नखीपोटस्थित ‘श्री कृष्ण नर्सरी’मा प्रवेश गर्नेबित्तिकै रंगीचंगी फूल र विभिन्न प्रजातिका बिरुवाले जोकोहीको मन लोभ्याउँछन् । यही हरियालीलाई आफ्नो जीवनको आधार बनाएका छन् गोदावरी नगरपालिका–१३ का कृष्णप्रसाद दाहालले । करिब २२ वर्षदेखि नर्सरी व्यवसायमा सक्रिय उनी आज आफ्नै मेहनतबाट आत्मनिर्भर उद्यमीका रूपमा स्थापित भएका छन् ।

सरुवाती दिनहरुमा दाहालको यात्रा सहज थिएन । आफ्नै व्यवसाय सुरु गर्नुअघि उनले अरूको नर्सरीमा काम गरेर बिरुवा उत्पादन, हेरचाह र बजार व्यवस्थापनको अनुभव बटुलेका थिए । त्यसपछि २०७४ सालमा करिब ८ देखि १० लाख रुपैयाँ लगानी गरेर आफ्नै ‘श्री कृष्ण नर्सरी’ सुरु गरे । अहिले उनको नर्सरीमा मौसमी फूल, इन्डोर र आउटडोर प्लान्ट, फलफूलका बिरुवा तथा तरकारीका बेर्नासमेत उपलब्ध छन् ।

उनका अनुसार मौसमी फूलको माग सबैभन्दा बढी हुने गर्छ । बिक्री नभएका साना बिरुवालाई ठूलो गमलामा सारेर मल, पानी र नियमित हेरचाह गर्दै हुर्काउने र पछि बिक्री गर्ने उनको आफ्नै व्यवसायिक शैली छ । ग्राहकको आवश्यकताअनुसार अन्य ठाउँबाट बिरुवा मगाएर उपलब्ध गराउनेदेखि गुणस्तरअनुसार मूल्य निर्धारण गर्नेसम्मको जिम्मेवारी उनी आफैँ सम्हाल्छन् ।

दाहालका अनुसार स्थानीय जातका बिरुवा तुलनात्मक रूपमा सस्ता हुन्छन् भने हाइब्रिड र उत्कृष्ट जातका बिरुवाको मूल्य बढी पर्छ । बिरुवा खरिद गर्दा मूल्यभन्दा पनि त्यसको स्वास्थ्य र गुणस्तरलाई प्राथमिकता दिनुपर्ने उनी सुझाव दिन्छन् ।

दैनिक कारोबार निश्चित नहुने भए पनि औसतमा १५ देखि २० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको उनी बताउँछन् । मौसमी फूलका बेर्ना आफैँ उत्पादन गर्ने उनले अन्य अधिकांश बिरुवा नेपालका तराई क्षेत्र र भारतबाट ल्याउँछन् भने केही विशेष प्रजातिका बिरुवा तथा सामग्री हल्यान्ड र चीनबाट समेत आउने गर्छन् ।

व्यवसायमा चुनौती पनि कम छैनन् । जग्गा भाडा, कर्मचारीको तलब, मल, पानी र बिजुलीको खर्च नियमित रूपमा व्यहोर्नुपर्छ । कहिलेकाहीँ लागतभन्दा कम मूल्यमा बिरुवा बिक्री गर्नुपर्ने अवस्था आउने गरेको उनी सुनाउँछन् । करिब १० देखि १५ प्रतिशत बिरुवा नोक्सान हुने भए पनि अन्य बिरुवाको बिक्रीबाट त्यसलाई सन्तुलन मिलाउँदै आएको उनको अनुभव छ ।

दाहालका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको यही व्यवसायबाट परिवारको जिम्मेवारी पूरा गर्न सक्नु हो। यही पेसाबाट उनले छोराछोरीको शिक्षा र घरपरिवारका आवश्यकताहरू पूरा गरेका छन् । बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म नर्सरीमै खटिने उनको दिनचर्याले मेहनत र लगावको कथा बोल्छ ।

‘बिरुवा बेच्नु भनेको व्यापार मात्र होइन, मानिसको घर, आँगन र वातावरणलाई हरियाली बनाउने काम पनि हो,‘ उनी भन्छन् । स्नेक प्लान्ट, पिस लिली र एरिका पामजस्ता इन्डोर बिरुवाले घरलाई आकर्षक बनाउनुका साथै हावाको गुणस्तर सुधार्न पनि सहयोग गर्ने भएकाले घरमा हरियाली बढाउन उनी सबैलाई आग्रह गर्छन् ।

कृषि पेसालाई पुर्खाबाट प्राप्त विरासतका रूपमा लिएका दाहाल नयाँ पुस्तालाई विदेश जानुलाई मात्र सफलताको बाटो नठान्न आग्रह गर्छन् । प्रविधि र आधुनिक शिक्षाप्रतिको आकर्षण स्वाभाविक भए पनि पुष्प तथा नर्सरी व्यवसायमा मेहनत, धैर्य र बजारको माग बुझ्न सके स्वदेशमै राम्रो सम्भावना रहेको उनको विश्वास छ ।

बिरुवा खरिद गर्दा अनलाइनमा देखिएको मूल्यमा मात्र भर नपरी नर्सरीमै पुगेर स्वस्थ र गुणस्तरीय बिरुवा छनोट गर्नुपर्ने उनको सुझाव छ । माटोसँग जोडिएर निरन्तर मेहनत गर्ने हो भने आफ्नै देशमै सम्मानजनक आम्दानी र सन्तुष्ट जीवन सम्भव छ भन्ने उदाहरण बनेका छन् कृष्णप्रसाद दाहाल ।

प्रकाशित समय : ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु