गृहपृष्ठ रसुवा बाढीमा परेका दमाइ परिवारको भविष्य अन्यौलमा

रसुवा बाढीमा परेका दमाइ परिवारको भविष्य अन्यौलमा

रसुवा बाढीमा परेका दमाइ परिवारको भविष्य अन्यौलमा

बाँके । नेपालगञ्ज–२० का आराम दमाइ र उजना दमाइ रसुवा बाढीमा परी बेपत्ता भएपछि उनको परिवार सहाराविहीन भएको छ । बाढी गएको १४ दिन बितिसक्दासमेत छोराहरु १६ वर्षीय सुभाष नेपाली र ११ वर्षीय अश्विन तथा नौ वर्षीया स्मारिका छोरी आमा–बुवा फर्किने आशमा छन् । सञ्चार माध्यममा यति दिनपछि बाढीमा फसेका यति जनालाई उद्धार गरियो भन्ने समाचार आउँदा उनीहरुलाई पनि आफ्ना मातापिताको पनि यसरी नै उद्धार भयो कि भन्ने विषयले झस्काइ रहन्छ । यता उति हेर्ने र टोलाइ रहने उनीहरुको अहिले दैनिकी बनेको छ ।

रसुवामा परी दमाइ दम्पतिको निधनले कलिला उमेरका छोराछोरीको जीवन अँध्यारो सुरुङभित्र फसेको जस्तो भएको छ । उनिहरु तीनै सन्तानको शिक्षा, दीक्षा र उज्ज्वल भविष्यका लागि सङ्घर्ष गर्ने क्रममा रसुवामा पुगेका थिए । बाजुराको हिमाली गाउँपालिकाबाट नेपालगञ्जको मनिकापुरस्थित थपुवामा बसाइँ सरेका दमाइ परिवारका लागि हन्डर र सङ्घर्ष नयाँ थिएनन् । सन्तानले आफूले जस्तो दुःख नपाऊन् भनी छोराछोरीलाई काठमाडौँ राखेर पढाउने सपना लिएर रसुवा भन्सार कार्यालयको टिमुरेस्थित पार्किङमा मजदुरी गर्दै आएका थिए। दमाइ दम्पतिले काममाडौंमा कक्षा ९ मा पढ्ने सुभाष, कक्षा ६ मा अश्विन र कक्षा ४ मा स्मारिका उज्ज्वल भविष्यको जग बसाल्दै थियो ।

“आमा–बुवाले रसुवाबाट दुःख गरेर पैसा पठाइदिनुहुन्थ्यो, हामी यहाँ पढ्थ्यौँ”, छोरा सुभाषले भने, “अहिले बाढीले बाआमा दुवै जनालाई बेपत्ता बनाएको यतिका दिन भयो अत्तोपत्तो छैन, हामी सहाराविहीन भयौँ । अब हाम्रो टाउकोमा हात राख्ने कोही छैन ।”

काठमाडौँको बिरानो सहरमा खाने, बस्ने र पढ्ने सहारा नै खोसिएपछि ती बालबालिका अहिले पूर्ण रूपमा असहाय बनेका छन् । आफूहरुको पढाइ र भविष्यबारे कोही कतैबाट सान्त्वना र सहयोग नपाएपछि काठमाडौँको बसाइ छाडेर नेपालगञ्ज फर्किने तयारीमा रहेको सुभाषले बताए ।

काठमाडौमा हालसम्म आफुहरुलाइ बस्ने खाने र पढाइ खर्च पठाउने आमा–बुवा नै बेपत्ता भएपछि अव भाई बहिनीलाई कसरी पढाउने र घरपरिवार कसरी चलाउने भन्ने चिन्ता सुभाषलाइ परेको छ ।

उक्त बाढीमा परी दमाइ दम्पतिसगै थपुवा गाउँका शेरसिंह रोकाय, विष्णुमती रोकाय र दीपक रोकाय बेपत्ता रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बताए ।उनले बेपत्ता व्यक्तिहरुको खोजी कार्य र बेपत्ता व्यक्तिका परिवारलाई आवश्यक सहयोग र समन्वयको लागि आफूले काम गर्दै आएको जानकारी दिँदै बेपत्ता भएका आराम र उजनाको छोरा छोरीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले तत्कालका लागि तीनै जना बालबालिकालाई स्थानीय वडावासीले सहयोग गर्ने वडाध्यक्ष बुढाको भनाइ छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङका अनुसार, रसुवा बाढीमा परी जिल्लाका २३ व्यक्ति अझै बेपत्ता छन् । तीन जनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको जानकारी दिए ।

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु