गृहपृष्ठ ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता निष्कर्षबिहिन, हिउँदमा पनि युद्ध जारी रहने

ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता निष्कर्षबिहिन, हिउँदमा पनि युद्ध जारी रहने

ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता निष्कर्षबिहिन, हिउँदमा पनि युद्ध जारी रहने

किभ । रुस-युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले वासिङ्टनले पुनः कूटनीतिक प्रयासहरू अघि बढाइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतहरू स्टिभ विटकफ र जारेड कुशनर किभ पुगेर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गरेका छन्।

मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टाभन्दा बढी समयसम्म ‘अर्थपूर्ण’ छलफल गरेको भोलिपल्टै अमेरिकी प्रतिनिधिमण्डल किभ आइपुगेको हो।

यद्यपि, यस वार्ताबाट कुनै ठूलो सफलता वा निकास निस्किएको देखिएको छैन। भेटपछि जेलेन्स्कीले जाडोयाममा पनि “युद्ध जारी रहने” अपेक्षा रहेको बताएका छन्। जेलेन्स्की र दूतहरूबिच भविष्यमा हुने त्रिपक्षीय बैठकहरू, समा अमेरिका-युक्रेन-युरोप र अमेरिका-युक्रेन-रुसबिचका वार्ताहरू समावेश छन्, पनि चर्चा भएको छ, यद्यपि ती बैठकहरूको मिति वा स्थान भने तोकिएको छैन।

किभको सोफिया स्क्वायरमा दूतहरूलाई स्वागत गरेपछि जेलेन्स्कीले स्थानीय समयअनुसार दिउँसो २:१५ बजे सामाजिक सञ्जालमार्फत वार्ता सुरु भएको जानकारी दिएका थिए। वार्ता मुख्यतया हिउँदकालीन सहयोग, सुरक्षा प्रत्याभूति, आर्थिक पुनर्लाभ र युक्रेनका लागि ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीको आपूर्तिको विषयमा केन्द्रित थियो।

युक्रेनले गत हिउँदमा रुसी आक्रमणका कारण देशको ९ गिगावाट बराबरको ऊर्जा क्षमता गुमाएको थियो। त्यसैले आगामी जाडोयाममा ऊर्जा प्रणालीमाथि हुन सक्ने थप आक्रमणलाई ध्यानमा राख्दै युक्रेनले तयारी तीव्र पारेको छ।

किभ इन्डिपेन्डेन्ट’ का अनुसार अमेरिका र युक्रेनबिचको छलफलमा हिउँदकालीन आवश्यकताहरूमै बढी जोड दिइएको थियो। पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, “यदि युद्ध जारी रह्यो भने र हामीलाई युद्ध जारी रहने नै अपेक्षा छ, हामी हिउँदे सहायता प्याकेज, विशेष गरी हवाई प्रतिरक्षा र ऊर्जा क्षेत्रको सहयोगमा ठूलो भरोसा गरिरहेका छौँ।”

वार्तामा कुनै ठोस नतिजा ननिस्किए पनि लामो समयको अवरोधपछि कूटनीतिक संवाद पुनः सुरु हुनु आफैँमा सकारात्मक कदम रहेको जेलेन्स्कीको भनाइ थियो। उनले किभमा अमेरिकी प्रतिनिधिहरूको उपस्थिति रहँदा राजधानीका बासिन्दाहरूले “प्याट्रियट प्रणालीभन्दा पनि अझ राम्रो सुरक्षा पाएको” भन्दै ठट्टा समेत गरे।

अमेरिकी पक्षले अर्को वर्ष एन्टी-ब्यालिस्टिक क्षेप्यास्त्र र प्याट्रियट प्रणालीको उत्पादन बढाउने जानकारी दिएको छ। जेलेन्स्कीले युक्रेन, युरोप र अमेरिकाबिच निकट भविष्यमै थप उच्चस्तरीय भेटघाट गर्ने सहमति भएको समेत जानकारी दिएका छन्।

प्रकाशित समय : १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु