गृहपृष्ठ सीपमूलक तालिमबाट उत्पादित सामग्री बाढी प्रभावितलाई सहयोग

सीपमूलक तालिमबाट उत्पादित सामग्री बाढी प्रभावितलाई सहयोग

सीपमूलक तालिमबाट उत्पादित सामग्री बाढी प्रभावितलाई सहयोग

नारायणगढ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, चितवनले तीन लाख ८६ हजार ५२५ बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ ।

कार्यालयले विभिन्न समयमा सञ्चालन गरेका सीपमूलक तालिममा उत्पादित तथा भण्डारमा रहेका कपडा र जुत्ता–चप्पल छनोट गरी जिल्ला प्रशासन कार्यालय चितवनको राहत सङ्कलन केन्द्रमार्फत बाढी प्रभावितका लागि उपलब्ध गराएको हो ।

कार्यालय प्रमुख विनोद पौडेलका अनुसार कार्यालयले सञ्चालन गरेका सीपमूलक तालिमबाट उत्पादित सामग्रीमध्ये एक हजार २७ थान कपडा र ११६ जोर जुत्ता–चप्पल राहतस्वरूप हस्तान्तरण गरिएको छ । उनका अनुसार सीपमूलक तालिम सञ्चालन गर्दा प्रयोग हुने कच्चापदार्थ कार्यालयले उपलब्ध गराउने व्यवस्था छ । तालिमका क्रममा तयार भएका सामग्री प्रशिक्षार्थीले आधा मूल्यमा खरिद गर्ने व्यवस्था भए पनि बिक्री नभएका सामग्री कार्यविधिअनुसार कार्यालयको स्टोरमा राखिन्छन् । त्यस्ता सामग्री आवश्यकताअनुसार सामुदायिक संस्था, विद्यालय, आश्रमलगायत सामाजिक प्रयोजनका लागि हस्तान्तरण गर्न सकिने व्यवस्था रहेको उनले बताए । उनले भने, “हाम्रो कार्यालयले सञ्चालन गरेका सीपमूलक तालिममा उत्पादित सामग्री स्टोरमा राखिएका थिए । सरकारी कार्यविधि र एकद्वार प्रणालीबमोजिम प्रयोग गर्न मिल्ने कपडा तथा जुत्ता–चप्पल स्क्रिनिङ गरी व्यवस्थित रूपमा प्याक गरेर रसुवाका बाढीपीडितका लागि जिल्ला प्रशासन कार्यालयको राहत सङ्कलन केन्द्रमा हस्तान्तरण गरेका हौँ ।”

विपद्को कठिन अवस्थामा बाढी प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सीपमूलक तालिममा उत्पादित सामग्री राहतका रूपमा हस्तान्तरण गरिएको उनले बताए ।

 

प्रकाशित समय : ०७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु