गृहपृष्ठ प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै
काठमाडौँ ।प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग रकम सङ्कलनको क्रम जारी छ । स्थानीय तह, विभिन्न सामाजिक सङ्घसंस्था, व्यवसायी, जनप्रतिनिधि, आमनागरिक, कर्मचारीलगायतले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितको रखोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि रकम सहयोग गरिरहेका छन् ।
सोही क्रममा आज लोकप्रिय रेस्टुरेन्ट चेन सेकुवा बाई किलोले बाढीबाट प्रभावितलाई लागि रु २० लाख ११ हजार १११ सहयोग गरेको छ । लोकप्रिय रेस्टुरेन्टले यही १६ गते आफ्ना कलङ्की, झम्सिखेल, दरबारमार्ग, लाजिम्पाट र बाँसबारी गरी पाँचवटै बिक्री केन्द्रबाट बिक्री भएको १०० प्रतिशत रकम बाढीपीडितका लागि दिने घोषणा गरेको थियो ।
त्यससँगै, कम्पनीका सबै कर्मचारीले एक दिनको तलब र बोर्ड सदस्यले प्रतिव्यक्ति रु एक लाख योगदान गर्नुभएको थियो । सङ्कलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
यसैगरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा आबद्ध गुल्मी जिल्लाका विभिन्न यातायात व्यवसायी प्रालिले आज महासङ्घमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख एक हजार सहयोग गरेका छन् । गुल्मी यातायात प्रालिका अध्यक्ष रुपकलाल श्रेष्ठको पहलमा सङ्कलन गरिएको उक्त रकम आज महासङ्घका उपमहासचिव पुरुषोत्तम सिंखडाले अध्यक्ष पुण्यप्रसाद (सरोज)सिटौलालाई हस्तान्तरण गर्े ।
गुल्मी जिल्लामा सञ्चालित गुल्मी यातायात प्रालिले रु तीन लाख ५१ हजार, आगन सेवा यातायात प्रालिले रु ५० हजार, मैत्री यातायात प्रालिले ५० हजार र रेसुङ्गा प्रालिले ५० हजार सहयोग गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा महासङ्घका अध्यक्ष सिटौलाले सङ्कटको घडीमा यातायात व्यवसायीले देखाएको यो सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको बताए।
त्यस्तै, रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, चितवनले तीन लाख ८६ हजार ५२५ बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ । कार्यालयले विभिन्न समयमा सञ्चालन गरेका सीपमूलक तालिममा उत्पादित तथा स्टोरमा रहेका कपडा र जुत्ता, चप्पल छनोट गरी जिल्ला प्रशासन कार्यालय चितवनको राहत सङ्कलन केन्द्रमार्फत बाढी प्रभावितका लागि उपलब्ध गराएको हो ।
कार्यालय प्रमुख विनोद पौडेलका अनुसार कार्यालयले सञ्चालन गरेका सीपमूलक तालिमबाट उत्पादित सामग्रीमध्ये कुल एक हजार २७ थान कपडा र ११६ जोर जुत्ता, चप्पल राहतस्वरूप हस्तान्तरण गरिएको छ । उहाँका अनुसार सीपमूलक तालिम सञ्चालन गर्दा प्रयोग हुने कच्चा पदार्थ कार्यालयले उपलब्ध गराउने व्यवस्था छ ।
साथै नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले भोटेकोशी बाढीबाट प्रभावित पत्रकारलाई एक लाख नगद सहयोग गरेको छ । बाढीका कारण घरबार गुमाएका, प्रभावित भएका तथा सम्पर्कविहीन पत्रकार र उनीहरूका परिवारलाई भेटेरै तथा सम्बन्धित शाखामार्फत सहयोग रकम उपलब्ध गराइएको महासङ्घका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए।
त्यसैगरीm तनहुँको आँबुखैरेनी गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म सम्पर्कविहीन रहेका चार जना नागरिकका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बैठकले सम्पर्कविहीन नागरिकको खोजीमा परिवारलाई सहयोग पुर्याउने उद्देश्यले प्रतिपरिवार २५ हजारका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन नागरिकको खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । खोजी, उद्धार, शव व्यवस्थापनलगायत विपद् व्यवस्थापनका सम्पूर्णमा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।
प्रकाशित समय : २१:४३ बजे


















