गृहपृष्ठ भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य जारी छ। नेपाली सेनाका ७५, सशस्त्र प्रहरीका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले शुक्रबार सो सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेको छ। उहाँहरूको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ।

खोज तथा उद्धारका क्रममा उक्त स्थानबाट एक जनाको शवसमेत निकालिएको र थप खोज तथा उद्धार कार्य जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

यस्तै, त्रिशूली–३ ‘बी’ मा सेनाका ८९, गैरसैनिक तीन तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो खन्ने तथा माटो पन्छाउने काम गरिरहेको छ। सो आयोजनाको अडिट–१ बाट उद्धार टोली ४२६ मिटरभित्र प्रवेश गरेको छ। अडिट–१ बाट एक्साभेटर छिराई त्रिशूली–३ ‘ए’ सँग लिङ्कअप गराउने काम भइरहेको सेनाले जनाएको छ।

लाङटाङ हाइड्रोमा सेनाका २५ तथा दुई गैरसैनिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी दुईवटा शव फेला पारेको छ। सो क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।

चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र पम्पको सहायताले लेदो फाल्ने काम गरिरहेको छ। माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा १७ सैनिक र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले र्‍याफ्ट र बोटको समेत प्रयोग गरी खोजी गरिरहेको छ। टनेलमा रहेको पानी फाल्ने काम भइरहेको छ।

देवीघाटमा पुल जडान हुँदै

देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली खटिएर बेस निर्माण गरिरहेको छ। सो स्थानमा जडान गर्नका लागि गजुरीमा रहेको ‘एक्रो ब्रिज’का केही भाग त्रिशूली पुर्‍याइएको र थप सामग्री ढुवानी गर्ने क्रममा रहेको सेनाले जनाएको छ।

प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला र बस्ती इलाकामा चिकित्सकसहित आवश्यक उद्धार टोलीले पैदल गस्ती गरिरहेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा बढी फौज घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन एवं आपत्कालीन उपचारमा क्रियाशील रहेका छन्।

यसैबीच, सात सैनिक र छ गैरसैनिक हेलिकप्टरमार्फत शुक्रबार प्रभावित इलाकाबाट २९ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

प्रकाशित समय : १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु