गृहपृष्ठ चौलानी नदी आंशिक थुनिएपछि सतर्क रहन मुख्यमन्त्री भट्टको आग्रह
चौलानी नदी आंशिक थुनिएपछि सतर्क रहन मुख्यमन्त्री भट्टको आग्रह
दार्चुला । अपि हिमाल गाउँपालिका–१ भट्टारमा पहिरो खसेर चौलानी नदी आंशिक रूपमा थुनिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
मुख्यमन्त्री भट्टले घटनाबारे अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, आन्तरिक मामिला मन्त्रालयका सचिव धर्मराज जोशीलगायत सम्बन्धित अधिकारीसँग जानकारी लिएको हो।
नदी आंशिक रूपमा थुनिएपछि पानीको सतह बढ्न सक्ने र थुनिएको नदी अचानक खुल्दा तल्लो तटीय क्षेत्रमा जोखिम उत्पन्न हुन सक्ने भएकाले नदी किनारका बासिन्दालाई पूर्वसावधानी अपनाउन मुख्यमन्त्री भट्टले आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखसँग समेत घटनाको अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले चौलानी नदी किनारमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबारे सचेत गराउन तथा सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
त्यस्तै, आन्तरिक मामिला मन्त्रालय र मातहतका सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन, घटनाको निरन्तर निगरानी गर्न तथा आवश्यक परे तत्काल खोज, उद्धार र राहतका लागि परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
नदी आसपास सतर्क रहन प्रशासनको आग्रह
यसैबीच, जिल्ला प्रशासन कार्यालय दार्चुलाले चौलानी नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले शुक्रबार सूचना जारी गर्दै अपि हिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा पहिरो खसेर नदी आंशिक रूपमा थुनिएको जनाउँदै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सम्भावित जोखिमबाट बच्न सतर्क रहन आग्रह गर्नुभएको छ।
पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने र त्यसबाट थप जोखिम उत्पन्न हुन सक्ने प्रशासनले जनाएको छ।
प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि १११५, विपद्मा सहयोग आवश्यक परे १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको ११४४ नम्बरमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ।
जोखिमबारे जानकारी गराउन सशस्त्र प्रहरी परिचालन
नदी आंशिक रूपमा थुनिएको जानकारी प्राप्त भएलगत्तै सम्भावित जोखिमबारे स्थानीय बासिन्दालाई जानकारी गराउन सशस्त्र प्रहरीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल चेमेलिया जलविद्युत् सुरक्षा बेस बलाँचबाट सशस्त्र प्रहरी सहायक निरीक्षक विनोद खड्काको कमान्डमा १० जनाको टोली खटाइएको सशस्त्र प्रहरी बल, नेपाल वैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले जानकारी दिएको छ।
टोलीले चमेलिया नदी आसपासका बस्ती तथा चमेलिया जलविद्युत् उत्पादन केन्द्र आसपासका नागरिकलाई सम्भावित जोखिमबारे जानकारी गराउँदै माइकिङ गरिरहेको उनले बताएको छ।
‘हाल नदीको बहाव सामान्य रहेको जानकारी छ। तथापि, पछि उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखेर आवश्यक सूचना प्रवाहका लागि जनशक्ति परिचालन गरेका छौँ,’ डिआइजी सुवेदीले भनेको छ।
स्थानीय प्रशासन र सुरक्षा निकायले नदी आसपासको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाउँदै सम्भावित जोखिम देखिए तत्काल आवश्यक कदम चाल्ने तयारी गरिएको बताएका छन्।
प्रकाशित समय : १८:५५ बजे


















